धनगढीमा नुहाउन गएका चार जनाकाे खोलामा डुबेर मृत्यु, अन्य तीन सकुसल
कैलाली, १२ भदौ । कैलालीको गोदावरी नगरपालिकाको हाटखोलीस्थित खुटिया खोलामा डुबेर चार किशोरको मृत्यु भएको छ भने उनीहरुसँगै नुहाउन गएका अन्य तीन किशोर भने सकुसल घर फर्किएका छन् ।
नुहाउने क्रममा खोलामा डुबेर धनगढी उपमहानगरपालिका–४ रातोपुलका १७ वर्षीय जाबेज भण्डारी र १५ वर्षीय जेब भण्डारी, वडा नं–५ तरानगरका १५ वर्षीय सक्षम जोशी र १७ वर्षीय प्रतिक चौधरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दले जानकारी दिनुभयो । चारैजना पौडी खेल्ने क्रममा डुबेका थिए ।
डुबेको खबर पाउनासाथ मालाखेती र स्याउलेबाट खटिएको प्रहरी टोलीले उनीहरुको खोजी गर्न थालेको थियो । घट्नास्थल नजिकै खोलामै चारै जनाको शव फेला परेको प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिनुभयो ।
धनगढीदेखि करिब १८ किलोमिटर उत्तरतर्फ चुरे पहाडको फेदमा रहेको खुटिया खोलामा किशोरहरुको समूह नुहाउन गएको प्रहरीले जनाएकाे छ ।