नेपालमा ७ अर्ब लगानीमा ‘ग्रिन हाइड्रोजन’ प्लान्ट स्थापना गर्न कोरियाली कम्पनीसँग सम्झौता

काठमाडौँ, १२ भदौ । नेपालमा स्वच्छ ऊर्जा उत्पादनतर्फ महत्त्वपूर्ण कदम चाल्दै ‘ग्रिन हाइड्रोजन’ प्लान्ट स्थापनाका लागि पहिलो चरणको सम्झौता भएको छ।

लगानी बोर्ड नेपाल र दक्षिण कोरियाको कम्पनी ‘जि-फिलोस’ बीच करिब ७ अर्ब रुपैयाँ लगानी हुने यस परियोजनाको विस्तृत सम्भाव्यता अध्ययन गर्न समझदारीपत्र (एमओयु) मा हस्ताक्षर भएको हो।

समझदारीपत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र जि-फिलोसका प्रमुख कार्यकारी अधिकृत गा वू पार्कले हस्ताक्षर गर्नुभयो। सम्झौताअनुसार, कोरियाली कम्पनीले १० महिनाभित्र विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार पारी बोर्डमा पेस गर्नेछ।

प्रारम्भिक प्रस्तावअनुसार, प्लान्टले २० मेगावाट क्षमताको ग्रिन हाइड्रोजन उत्पादन गर्ने लक्ष्य राखेको छ। हस्ताक्षर कार्यक्रममा बोर्डका सीईओ ज्ञवालीले यस्ता परियोजनाले नेपालमा पुँजी र प्रविधि भित्र्याउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो।

नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क ताए योङले यो कदमले नेपालको दिगो विकास लक्ष्य प्राप्तिमा सघाउनुका साथै दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउने बताउनुभयो।

कार्यक्रममा विद्युत् नियमन आयोग, विद्युत् विकास विभाग र नेपाल विद्युत् प्राधिकरणका प्रतिनिधिहरूले पनि यो परियोजना नेपालका लागि महत्त्वपूर्ण र उपयोगी हुने धारणा राखेका थिए।
जि-फिलोस कम्पनीले गत वैशाखमा सार्वजनिक–निजी साझेदारी ढाँचामा यो परियोजना सञ्चालन गर्न प्रस्ताव पेस गरेको थियो। सोही प्रस्तावलाई लगानी बोर्डको ६३औँ बैठकले अध्ययनका लागि अनुमति दिने निर्णय गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *