मर्चवारलाई बुटवल-भैरहवा जस्तै बनाउने अर्थमन्त्री पौडेलको प्रतिबद्धता

लुम्बिनी, १४ भदौ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रुपन्देहीको मर्चवार क्षेत्रलाई केही वर्षभित्रै बुटवल र भैरहवा जस्तै सम्पन्न बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

नेकपा (एमाले) रुपन्देहीले आयोजना गरेको बृहत् आमसभालाई सम्बोधन गर्दै उहाँले मर्चवारको विकासका लागि अस्पताल, क्याम्पस र अन्य पूर्वाधार निर्माण गर्न बजेटको व्यवस्था गर्ने बताउनुभयो।

एमालेका उपाध्यक्ष समेत रहनुभएका पौडेलले देशको समुन्नत विकासका लागि बलियो पार्टी र सक्षम नेतृत्व आवश्यक पर्ने बताउँदै एमालेप्रति जनताको आकर्षण बढेको दाबी गर्नुभयो। कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी हजारौँ व्यक्ति एमालेमा प्रवेश गरेका थिए।

सो अवसरमा बोल्दै स्थानीय पूर्व जनप्रतिनिधिहरूले मर्चवारमा चार लेनको चक्रपथ निर्माण गर्न र किसानका लागि मलखाद तथा सिँचाइ सुविधा सहज बनाउन माग गरेका थिए।

तराईको अन्नभण्डार मानिने रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवार लामो समयदेखि विकासमा पछाडि परेको थियो। शिक्षा, स्वास्थ्य र खानेपानी जस्ता आधारभूत पूर्वाधारको अभावमा यहाँका जनताले कठिन जीवन बिताउँदै आएका छन्। एमाले नेतृत्वको यो प्रतिबद्धतालाई स्थानीयले आशाको किरणका रूपमा लिएका छन्।