सिन्धुपाल्चोककी गंगा सोनामले जितिन् नेपाल आइडल सिजन-६ को उपाधि

काठमाडौं, भदौ १५ । गायन रियालिटी शो ‘नेपाल आइडल’ सिजन-६ को उपाधि सिन्धुपाल्चोककी गंगा सोनामले जितेकी छन्।

आइतबार राति भएको ग्राण्ड फिनालेमा अन्य चार प्रतिस्पर्धीहरूलाई पछि पार्दै उनले यो उपाधि हासिल गरेकी हुन्। यससँगै नेपाल आइडलको इतिहासमा विजेता बन्ने गंगा दोस्रो महिला बनेकी छन्।

विजेता बनेसँगै गंगाले उपाधि ट्रफी, नगद २५ लाख रुपैयाँसहित विभिन्न उपहारहरू प्राप्त गरेकी छन्।
ग्राण्ड फिनालेमा गंगासँगै दार्जिलिङका अभिनय खाति, सिक्किमकी बबिता थापा मगर, चितवनकी दर्शना गान्धारी र काठमाडौंका मृनल मानन्धर उपाधिका लागि प्रतिस्पर्धामा थिए।

प्रतियोगितामा बबिता थापा मगर फर्स्ट रनरअप र दर्शना गान्धारी सेकेन्ड रनरअप घोषित भए। उनीहरूले क्रमशः नगद १० लाख र ५ लाख रुपैयाँसहित विभिन्न उपहारहरू प्राप्त गरे। विजेताको घोषणा दर्शकले दिएको भोटका आधारमा गरिएको थियो।

यस सिजनमा अभिनय खाति चौथो स्थानमा रहे भने मृनल मानन्धरले पाँचौ स्थान हासिल गरे। उनीहरू दुवैले १ लाख रुपैयाँ पुरस्कार जिते।

नेपाल आइडलको यो सिजनमा न्ह्यू बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी निर्णायक मण्डलमा थिए भने आसिफ शाहले उद्घोषणको भूमिका निभाएका थिए। सुरेश पौडेल र एलेन श्रेष्ठले शोको निर्देशन गरेका हुन्।

ललितपुरको ग्वार्कोस्थित रोयल टुलिप होटलमा भएको फिनालेलाई एपीवान टेलिभिजन र नेपाल आइडलको युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण गरिएको थियो।