सरकारको निर्ययसंगै सम्पर्कमा आयो ट्विटर (एक्स) र विच्याट

काठमाडौं, २० भदाै । सरकारले सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेसँगै लोकप्रिय सामाजिक सञ्जाल प्लेटफर्म एक्स (ट्विटर) र विच्याटका प्रतिनिधि सरकारको सम्पर्कमा आएको छ ।

ट्विटरको सिंगापुरस्थित कार्यालयबाट सञ्चार मन्त्रालयमा आधिकारिक पत्राचार गरिएको हो ।

सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले ट्विटरबाट आज इमेल प्राप्त भएको पुष्टि गरे । ठाकुरका अनुसार सिंगापुरबाट मार्कको नाममा आएको इमेलमा दर्ता प्रक्रिया र आवश्यक डकुमेन्टका बारेमा सोधिएको थियो । इमेल प्राप्त हुनासाथ जवाफ पठाइसकिएको उनले जानकारी दिए ।

डकुमेन्ट प्राप्त भए लगत्तै आफूहरूले तत्काल सूचीकरण गर्ने उनको भनाइ छ । फेसबुकबाट भने आधिकारिकरुपमा कुनै पनि पत्राचार नभएको ठाकुरले जानकारी दिए ।

नेपालकै प्लेटफर्म हाम्रो पात्रोले दर्ताका लागि सबै डकुमेन्टहरू हिजो उपलब्ध गराएको छ । यसबाहेक अन्य सामाजिक सञ्जाल सम्पर्कमा आएका छैनन् ।