मिर्गौला बचाउन फलफूलको नियमित सेवन आवश्यक : जनस्वास्थ्य विज्ञ
काठमाडौँ, भदौ २० । हाम्रो शरीरको महत्वपूर्ण अंगमध्ये मिर्गौला एक हो । जसको मुख्य कार्य शरीरबाट हानिकारक विषाक्त पदार्थहरू बाहिर निकाल्नु हो । तर, आजको खराब जीवनशैलीका कारण मृगौलामा अनावश्यक दबाब परिरहेको छ । जसले यसको कार्य क्षमतामा ह्रास ल्याउन सक्छ । रगत शुद्धीकरण गर्ने यो संवेदनशील अंगको विशेष हेरचाह गर्नु अपरिहार्य छ । विज्ञहरूका अनुसार, मृगौलालाई स्वस्थ राख्न र यसको कार्यक्षमता बढाउनको लागि हाम्रो दैनिक आहारमा केही विशेष फलफूलहरू समावेश गर्नु अत्यन्त लाभदायक हुन्छ। नियमित रूपमा यस्ता फलफूलहरूको सेवनले मृगौलालाई स्वस्थ राख्न मद्दत पुग्छ ।
यहाँ ५ त्यस्ता फलफूलहरूको बारेमा चर्चा गरिएको छ, जसलाई आफ्नो दैनिक आहारमा समावेश गर्दा मिर्गौलाको स्वास्थ्य मजबुत रहन्छ । शरीरबाट विषाक्त पदार्थहरू सहज रूपमा बाहिर निकाल्न मद्दत गर्छन् ।
ब्लूबेरी:
ब्लूबेरीमा क्यालोरी कम हुन्छ र यो भिटामिन सी, एन्टिअक्सिडेन्ट्स, एन्थोसायनिन तथा विभिन्न खनिजहरूको राम्रो स्रोत हो । यसले तौल नियन्त्रणमा मात्र नभई मृगौलाको स्वास्थ्यका लागि पनि निकै फाइदाजनक मानिन्छ ।
अनार:
शरीरमा रगत बढाउनका लागि प्रायः अनारको सिफारिस गरिन्छ । तर, यो फल मृगौलाको स्वास्थ्यका लागि पनि उत्तिकै महत्वपूर्ण छ । अनारमा भिटामिन, पोलिफेनोल, एन्टिअक्सिडेन्ट्स र मिनरल्स पाइन्छन् । जसले मृगौलालाई विषाक्त पदार्थबाट जोगाउन, सुजन कम गर्न र कार्यक्षमता बढाउन मद्दत गर्छ। नियमित सेवनले डिटक्स प्रक्रियालाई बलियो बनाई रगतको प्रवाह सुधार गर्छ ।
स्याउ:
“दैनिक एक स्याउले डाक्टरलाई टाढा राख्छ” भन्ने भनाइ यत्तिकै आएको होइन । स्याउमा पाइने फाइबर, भिटामिन र एन्टि-इन्फ्लेमेटरी गुणहरूले मृगौलाको स्वास्थ्य सुधार गर्न, विषाक्त पदार्थहरू हटाउन र कार्यक्षमता बढाउन महत्वपूर्ण भूमिका खेल्छन् ।
रातो अंगूर:
रातो अंगूरमा फ्लेभोनोइड्स, एन्टिअक्सिडेन्ट्स र रेस्भेराट्रोलजस्ता तत्वहरू पाइन्छन् । यी तत्वहरूले मृगौलामा हुने सुजन र अक्सिडेटिभ तनाव कम गर्न मद्दत गर्छन् । नियमित रूपमा रातो अंगूरको सेवनले मृगौलाको स्वास्थ्य बलियो बनाई यसको कार्यक्षमतामा सुधार ल्याउँछ ।
केरा:
केरा पोटासियमको उत्कृष्ट स्रोत हो। पोटासियमले शरीरको तरल पदार्थ सन्तुलनमा राख्न, रक्तचाप नियन्त्रण गर्न र मृगौलामा पर्ने असरलाई कम गर्न मद्दत गर्छ । यसले मृगौलालाई सहज रूपमा काम गर्न वातावरण प्रदान गर्छ र समग्र स्वास्थ्य कायम राख्छ ।