जेनजीकाे आन्दाेलनमा मृत्यु हुनेको सङ्ख्या ३६ पुग्यो: घाइतेको उपचार जारी, एक हजार ३७९ जना उपचार पश्चात घर फर्के

काठमाडौँ, २७ भदौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘जेनजी’ प्रदर्शनका क्रममा भएका विभिन्न घटनाका क्रममा ३६ जनाको मृत्यु भएको जनाएको छ ।

मन्त्रालयका सचिव डा विकास देवकोटाले देशभरिका अस्पतालबाट प्राप्त गरेको विवरणअनुसार हालसम्म ३६ जनाको मृत्यु भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार हाल देशभरिका विभिन्न ५२ अस्पतालमा २८४ जना घाइतेको उपचार भइरहेको र समग्रमा एक हजार ७७१ जना घाइतेको उपचार गरिएको उहाँले बताउनुभयो । घाइतेको अस्पतालले निःशुल्क उपचार गरिरहेका छन् ।

सचिव डा देवकोटाका अनुसार हाल निजामती कर्मचारी अस्पतालमा २३, ट्रमा सेन्टरमा ३२, त्रिवि शिक्षण अस्पतालमा २५ र काठमाडौँ मेडिकल कलेज ३५, नेपाल पुलिस अस्पतालमा २८, झापाको बिएन्डसी अस्पतालमा ५३ जनाको उपचार भइरहेको छ ।

यस्तै, प्रदर्शनका क्रममा घाइते भएका एक हजार ३७९ जना बिरामी उपचारपश्चात् घर फर्किसकेका छन् ।