चलचित्र ‘बलिदान’को ट्रेलर सार्वजनिक

काठमाडौँ, असोज ३ । आसुसेन फिल्म्स प्रालिको ब्यानरमा बनेको चलचित्र ‘बलिदान’ को ट्रेलर आज सार्वजनिक भएको छ । यसअघि चलचित्रको पोस्टर, प्रि-टिजर, टिजर र गीत सार्वजनिक भइसकेका छन् । ट्रेलरमा अभिनेत्री ऋचा शर्मा आमाको भूमिकामा देखिएकी छिन् । जहाँ, उनी देशभक्तिपूर्ण भावमा प्रस्तुत भएकी छिन् । कलाकार अर्पण थापा, सौगात मल्ल र महेन्द्र बुढाथोकी पनि फरक अवतारमा देखिन्छन् । सौगात मल्लले आफूलाई ‘राक्षस बन्न बाध्य पारेको’ संवाद बोलेका छन् भने समीर र सौगातबीचको द्वन्द्व दृश्यले ट्रेलरलाई थप रोचक बनाएको छ ।
यसअघि सार्वजनिक टिजरमा सौगात मल्लको मसाल बोकेको दृश्य, हेमन्त बुढाथोकीको संवाद र ऋचा शर्माको भावनात्मक प्रश्न समेटिएको थियो । निर्देशक सन्तोष सेन स्वयं आदिवासी पात्रका रूपमा देखिएका दृश्यले टिजरलाई थप आकर्षक बनाएको थियो । चलचित्र ‘बलिदान’ लाई वहुप्रतिक्षित नेपाली चलचित्रका रूपमा हेरिएको छ । निर्देशक सेनले यसलाई केवल चलचित्र नभई हरेक नेपालीको मनको विद्रोहको प्रतीक बताएका थिए । चलचित्रको शीर्ष गीत ‘यो ज्यान बलिदान’ ले सुजन चापागाईंको स्वर र सङ्गीत तथा हर्क साउदको शब्दमा बनेर चर्चा बटुलिसकेको छ ।
चलचित्रमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायतका कलाकारहरूको अभिनय रहेको छ । पवन ब्राडफोर्ड बिस्ट निर्माता र प्रेम पुरी कार्यकारी निर्माता हुन् । यो चलचित्र बडादसैँको फूलपातीको दिन (असोज १३ गते) प्रदर्शनमा आउनेछ ।