मुग्लिन–नारायणगढ सडकखण्डको पहिरो बिहानैदेखि पन्छाइँदै

काठमाडौं, ५ असोज । मुग्लिन–नारायणगढ सडकखण्डकाे तुइन खोला पुल नजिक खसेको पहिरो आज बिहानैदेखि पुन: पन्छाउने काम सुरु गरिएको छ ।

बिहानैदेखि मुग्लिन र नारायणगढ तर्फबाट मेसिन परिचालन गरी पहिरो पन्छाउने कार्य सुरू भएपनि ढुंगा झर्ने क्रम अझैसम्म पनि रोकिएको छैन ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार थप पहिरो नझरे, निरन्तर रूपमा कार्य गर्दा बाधा भएन भने छिटोभन्दा छिटो सवारी आवागमन सञ्चालनमा ल्याउन सकिने जनाएको छ ।

चितवनको इच्छाकामना गाउँपालिकास्थित तुइन खोलासंगै शुक्रबारदेखि निरन्तर पहिरो खसिरहेको छ । शुक्रबार रातिदेखि नै सडक अवरुद्ध हुँदा यात्रुहरू बाटोमै अलपत्र परेका छन् ।

अहिले पनि सडकमा धेरै सवारी साधन र मानिसहरू अलपत्र छन् । राजमार्गको दुवैतर्फ सवारी साधनको लामो लाइन लागेको छ ।