कोदारी राजमार्ग खुलेसँगै तातोपानी भन्सार नाकाबाट सामान आयात सुरु
सिन्धुपाल्चोक, ८ असोज । पहिरोका कारण एक महिनाअघिदेखि अवरुद्ध तातोपानी–कोदारी राजमार्ग खुलेको छ । राजमार्ग खुलेसँगै चीनसँगको प्रमुख व्यापारिक ढोका तातोपानी नाका सोमबारदेखि सामान बोकेका कन्टेनरहरू नेपाल भित्रिन थालेका हुन ।
कोदारी सडकखण्डको भोटेकोशी गाउँपालिका–२ इकोसहितको चार ठाउँको पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको हो । अरनिको राजमार्गको भोटेकोशी गाउँपालिका क्षेत्रका विभिन्न स्थानमा झन्डै ५०० मिटर सडक भासिएको थियो । इकोमा २५० मिटर, डाक्लाङमा ११० मिटर, पान्थलीमा १०० मिटर, लार्चेमा २५ मिटर र घट्टेखोलामा १० मिटर सडक भासिएको थियो ।
महिना दिनभन्दा बढीदेखि रोकिएका केही कन्टेनर मङ्गलबार बेलुकीसम्म भित्रिएको तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुडालले जानकारी दिनुभयो । उहाँका अनुसार दसैँ लक्षितलगायत सामग्री भित्रिएका र आज पनि लोडको काम भइरहेको उहाँले जानकारी दिनुभयो ।