नवरात्रिकाे मेला लाग्ने कालमोचन घाट, जहाँ टुकुचा बागमतीमा मिसिन्छ

काठमाडाैं, ९ असाेज । हाल काठमाडौंमा अत्यन्त चर्चामा रहेको टुकुचा खोला पनि दशैंकाे पर्वकाे नवरात्रि मेला लाग्ने पवित्र तीर्थस्थल मध्य एक हो ।

बुढानिलकण्ठ क्षेत्रबाट उत्पत्ति भई काठमाडौंको बीचैबीच बग्ने टुकुचा खोला जब त्रिपुरेश्वर हुँदै बागमतीमा मिसिन्छ, त्यसपछि यसको परिचय बदलिन्छ । टुकुचा खोला बागमतीमा मिसिने दोभानलाई कालमोचन घाट भनिन्छ, जहाँ पुगेपछि टुकुचा पनि सकिन्छ ।

मोहनीताका मनाइने नवरात्रि मेलाको चौथौ दिन अर्थात आज बिहान सवेरै दर्शनको लागि जाने तीर्थस्थल हो कालमोचन घाट ।

यो घाटमा बागमती नदी र कालमोचन नदी मिसिएर दोभान बनेको छ । टुकुचालाई यहाँ पुगेपछि कालमोचनी भनिन्छ ।

टुकुचा खोलालाई इक्षुमती पनि भनिन्छ । तसर्थ यो तीर्थलाई इक्षुमती तीर्थ पनि भनिन्छ । टुकुचा खोलाको स्थानीय नाम भने ‘तुखुचा खुसि’ हो ।

विभिन्न ठाउँबाट बग्दै आउने टुकुचा त्रिपुरेश्वर (पुरानो ब्लु बर्ड होटलको सँगै) बाट सिधा तल बागमतीमा झर्दछ ।

राणाकालमै विभिन्न ठाउँमा सुरुङ बनाएर भूमिगत पारिएको टुकुचा वास्तवमा नदी हो कि खोला हो भन्ने विवाद यतिबेला चर्किरहेको भए पनि बागमती नदीमा मिसिने बेला भने यो एउटा पवित्र तीर्थस्थल हो भन्ने कुरा नवरात्रिको आजको दिनले पनि पुष्टि गर्दछ ।

टुकुचा खोलालाई फोहोर, दुर्गन्धित र ढल मात्र बग्ने खोलाका रुपमा धेरै पहिलेदेखि नै चित्रण गर्ने चलन रहँदै आएको छ । कुनै निश्चित स्रोत नभएको टुकुचामा फोहोर पानी मात्रै बग्न थालेको धेरै भइसकेको छ ।

बढ्दो शहरीकरणका कारण घर घरबाट निस्किने ढल मिसिएर टुकुचाको पवित्रता मात्र होइन यसको सौन्दर्य र पर्यावरणीय महत्वमाथि समेत चुनौती थपिदिएको छ ।

टुकुचा र बागमती मिसिने यो इक्षुमती तीर्थ अर्थात कालमोचन घाटमा स्नान गरेमा अकाल मृत्युको भयबाट मुक्ति मिल्ने विश्वास गरिन्छ ।

नवरात्रिको चौथौं दिन कालमोचन घाटमा स्नान गरी अलि पर कान्तिपुर दैनिक कार्यालय सँगै रहेको दोला अजिमा पीठमा पूजा गरिन्छ ।थापाथलीको माइतीघर मण्डला रहेको क्षेत्रलाई स्थानीय नेपालभाषामा ‘फिब्व ख्यः’ भनिन्छ । यसको अर्थ हुन्छ ‘बालुवा मिसिएको चौर’ । पहिले पहिले यो ठाउँ चौरका रुपमा रहँदा त्यो सम्पूर्ण क्षेत्र यही दोला अजिमाको जग्गा थियो । तत्कालीन राज्यले अजिमाको त्यो जग्गा अतिक्रमण गरी निजी बनाएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *