मलेसियासँग नेपाल तीन रनले पराजित

काठमाडौँ, १६ असोज । नेपाल बिहिबार मलेसियासँग महिला टि२० अन्तर्रष्ट्रिय शृङ्खलाअन्तर्गत पहिलो खेलमा तीन रनले पराजित भएको छ ।

मलेसियाको क्वालालम्पुरस्थित बायुमास मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टिम मलेसियाले  निर्धारीत २० ओभरमा पाँच विकेटको क्षतिमा १०४ रन मात्र बनाएको थियो । नेपालले जवाफमा सात विकेटको क्षतिमा १०१ रन मात्र बनाउनसक्यो ।

नेपालले अन्तिम ओभरमा सात रन बनाउन नसकेको हो । नेपालको लागि पुजा महतोले २९ बलमा सर्वाधिक ३० रन बनाइन् । सम्झना खड्काले १६ बलमा १८ रन र कविता जोशीको १३ रन योगदान दिए मलेसियाको लागि नुर डानियाले सर्वाधिक तीन विकेट लिइन् ।

यसअघि, मलेसियाकी कप्तान विनिफ्रेड डुरैसिंगमले ४१ बलमा सर्वाधिक २६ रन बनाएकी थिइन् । प्रारम्भिक ब्याटर ऐना हमिजा हसिमाले २६, मास ऐसाले २५ रनको उपयोगी पालि खेले । नेपालको लागि सुमन विष्टले सर्वाधिक दुई विकेट तथा रुविना क्षेत्रीले एक विकेट लिइन् ।