मलेसियाविरुद्ध नेपाल छ विकेटले विजयी

काठमाडौँ, १८ असोज । नेपालले शनिबार मलेसियालाई छ विकेटले हराएर महिला टी–२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत दोस्रो खेलमा जित हासिल गरेको छ ।
क्वालालम्पुरस्थित वायुमास ओभलमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारीत २० ओभरमा चार विकेट गुमाएर ९१ रन बनाएको थियो । नेपालले १६.२ ओभरमा चार विकेटको क्षतिमा ९३ रन बनाएर लक्ष्य हासिल गर्यो ।
नेपालका पालिमा पूजा महतोले ३९ बलमा सर्वाधिक ३९ रन बनाइन् । कप्तान इन्दु बर्मा २१ बलमा २७ रन बनाएर अविजित रहिन् । मलेसियाकी आइना हमिजाले दुई तथा नुर दानिया स्युहादा र नुर आलियाले एक–एक विकेट लिए ।
यसअघि, आइनाले ६३ बलमा पाँच चौका प्रहार गरी अविजित ५० रनको पालि खेलेकी थिइन् । नेपालका लागि सुमन विस्टले चार ओभरमा १८ रन खर्चेर दुई तथा कविता कुँवरले दुई ओभरमा पाँच रन दिएर एक विकेट लिए । सो खेलमा पूजा प्लेअर अफ दि म्याच बनिन् ।
यस नतिजासँगै पाँच खेलको शृङ्खला १–१ ले बराबरीको स्थितिमा आएको छ । यसअघि बिहिबार भएको पहिलो खेलमा घरेलु टिम मलेसियाले नेपाललाई तीन रनले पराजित गरेको छ । तेस्रो खेल आइतबार हुनेछ ।