महिला टी–२० अन्तर्राष्ट्रिय शृंखलामा मलेसियासँग नेपालको हार
काठमाडौँ, असोज १९ गते । महिला टी–२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत तेस्रो खेलमा नेपाल आइतबार मलेसियासँग १३ रनले पराजित भएको छ । यस नतिजासँगै पाँच खेलको शृङ्खलामा घरेलु टिम मलेसिया २–१ ले अगाडी भएको छ ।
बिहिबार भएको पहिलो खेलमा घरेलु टिम मलेसियाले नेपाललाई तीन रनले पराजित गरेको थियो । नेपालले दोस्रो खेलमा छ विकेटले जित प्राप्त गरेपछि शृङ्खला १–१ ले बराबरीको स्थितिमा आएको थियो ।
मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभलमा भएको खेलमा पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारीत २० ओभरमा चार विकेट गुमाएर १२० रन बनाएको थियो । नेपालले जवाफमा आठ विकेटको क्षतिमा १०७ रन मात्र बनाउनसक्यो ।
नेपालका लागि रुबी पोद्दारले सर्वाधिक ३१ रन बनाइन् । कप्तान इन्दु बर्मा २२ रनमा अविजित रहिन् । मलेसियाकी नुर दानिया स्युहादा र आइसा एलिसाले विकेट लिए । नेपालका छ ब्याटर रनआउट भए ।
यसअघि मलेसियाकी आइना हमिजाले सर्वाधिक ६१ रन बनाएकी थिइन् । मास एलिसाले ३० रनको योगदान दिइन् ।
नेपालकी कविता जोशी र कविता कुँवरले दुई–दुई विकेट लिए ।