काठमाडौंलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

काठमाडौँ, २७ कात्तिक । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको प्लेअफमा प्रवेश गरेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा काठमाडौं गोर्खाजलाई ७ रनले पराजित गर्दै सुदूरपश्चिमले प्लेअफमा स्थान पक्का गरेको हो ।

सुदूरपश्चिम जारी प्रतियोगितामा प्लेअफमा पुग्ने दोस्रो टोली बनेको छ । यसअघि लुम्बिनी लायन्सले प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ ।

सुदूरपश्चिमले दिएको १२६ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११८ रन मात्र बनाउन सक्यो । काठमाडौंका लागि राशिद खानले अविजित ३५, दुशान हेमन्थाले २१, साम हिजलेटले ११ र सन्तोष यादवले १० रन बनाए ।

बलिङमा सुदूरपश्चिमका अनिल खरेलले दुई विकेट लिए भने स्कट कुग्लिन, फाबियन एलन र हेमन्त धामीले एक–एक विकेट हात पारे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२५ रन बनाएको थियो । उसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ६० रन बनाए । उनले ५५ बलमा पाँच चौका र दुई छक्का प्रहार गरे । जारी प्रतियोगितामा ऐरीको यो पहिलो अर्धशतक हो ।

त्यस्तै, थरिन्दु रत्नायकेले अविजित २६ र आरिफ शेखले १६ रनको योगदान दिए । काठमाडौंका जहानदाद खानले तीन तथा सन्तोष यादवले दुई विकेट लिए ।

आजै हुने दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *