रौतहटको माधव नारायण नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, २६ असाेज । रौतहटको माधव नारायण नगरपालिकामा विद्यालय भवन निर्माण ठेक्कामा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीनजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले नगरपालिका-३ सखुअर्वामा निर्माणाधीन देवी माध्यमिक विद्यालयको भवन ठेक्का सम्बन्धी प्रक्रिया गैरकानूनी ढंगले सम्पन्न गरिएको प्रमाण फेला पारेपछि आइतबार मुद्दा दायर गरेको हो ।

उक्त प्रकरणमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रलब कायस्थ, लेखापाल रामबलम प्रसाद यादव, र रौतहट एडभटाइजिङ एजेन्सी प्रालिका सञ्चालक अजितकुमार कर्णको संलग्नता रहेको पाइएको आयोगका सहसचिव एवम राजेन्द्रप्रसाद पौडेलले जानकारी दिए ।

अख्तियारले दायर गरेको आरोपत्रमा भनिएको छ, ‘सार्वजनिक खरिद ऐन अनुसार सूचना प्रकाशन नगरी ठेक्का प्रक्रिया सञ्चालन गर्नु गम्भीर अनियमितता हो । यस्तो मिलेमतोपूर्ण कार्यले स्थानीय तहको पारदर्शिता र उत्तरदायित्व दुवैमा आघात पुर्‍याएको छ ।’