नेपालको युएइविरुद्ध एक रनको जित
काठमाडौँ, असोज २६ गते । आइसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा नेपालले आइतबार संयुक्त अरब इमिरेट्स (युएइ)लाई एक रनले हराएको छ । यस जितसँगै नेपाल सन् २०२६ मा हुने आइसीसी टि२० विश्वकपमा चयनको नजिक पुगेको छ ।
ओमानको अल अमिरातस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारीत २० ओभरमा छ विकेटको क्षतिमा १४० रन बनाएको थियो । युएइले जवाफमा नौ विकेटको क्षतिमा १३९ रन मात्र बनाउनसक्यो ।
अलिसन सराफुको अर्धशतकले युएइ लक्ष्य पछ्याउने क्रममा सहज जिततर्फ अग्रसर थियो । कप्तान मोहम्मद वासिम एक रनमा सोमपाल कामीको शिकार बनेपछि सराफू र जोनाथन फिगीले दोस्रो विकेटका लागि ८१ रनको साझेदारी गरेपछि नेपालको पकडबाट खेल फुत्किसकेको थियो । तर दिपेन्द्रसिंह ऐरीले शानदार बलिङ र फिल्डिङ गरी नेपाललाई जित दिलाए । दिपेन्द्रले सराफू र फिगी दुवैलाई अउाट गरे । सराफूले ४० बलमा तीन चौका र पाँच छक्कासहितसर्वाधिक ५८ रन बनाए । युएइको पालिमा राम्रो ब्याटिङ गर्ने अर्का ब्याट्सम्यन धु्रव परासर (१८ बलमा ३२ रन)को विकेट पनि दिपेन्द्रले नै लिए ।
दिपेन्द्रले नै अन्तिम ओभरमा दस रन रक्षा गरेका हुन् दिपेन्द्रले चार ओभरमा २२ रन खर्चेर सर्वाधिक तीन विकेट लिए । दिपेन्द्र नै म्यान अफ दि म्याच बने ।
नेपालका लागि सोमपाल कामी, गुलसन झा र सन्दीप लामिछानेले पनि विकेट लिए । यसअघि प्रारम्भिक ब्याट्सम्यान आसिफ शेखको ४७ बलमा ५१ रन बनाएर नेपालको पालि सम्हालेका थिए । थियो । आसिफको पालिमा चार चौका र एक छक्का सामेल थियो । कुशल भुर्तेल दुई चौका र दुई छक्कासहित २६ बलमा २८ रन बनाएर आउट भए ।
कप्तान रोहित पौडेलल १९ बलमा एक चौकासहित २० रन बनाएर क्रिज छोडे । कुशल मल्लले ११ बलमा दस रनको सुस्त पालि खेले । दिपेन्द्र छक्का प्रहार गर्ने क्रममा एक रनमा आउट भए । गुलसनले भने पाँच बलमा १४ रनको संक्षिप्त तर आकर्षक पालि खेले । सन्दीप जोरा चार र सोमपाल कामी छ रनमा अविजित रहे । यूएईका लागि जुनेद सिद्दिकी, मुहम्मद रोहिद, जाहिद अली, ध्रुव पराशर, हर्षित कौशिक र हेदर अलीले एक–एक विकेट लिए ।
चालू प्रतियोगितामा नेपाल अपराजित नेपालको सुपर सिक्समा चार अङ्क भएको छ । समूह चरणमा दुवै खेल जितेर नेपालले दुई अङक बोनस प्राप्त गरी सुपर सिक्समा प्रवेश गरेको हो । सुपर सिक्समा शीर्ष तीन स्थानमा रहने टिमले विश्वकपमा खेल्नेछ । नेपालले अब नेपालले सोमबार कतार, बुधबार सामोआ र शुक्रबार ओमानसँग खेल्नेछ ।