चितवनमा दाना उद्योगको पर्खाल भत्किँदा ३ कामदारको मृत्यु, २ घाइते

काठमाडाैं, २९ असाेज । चितवनमा एक दाना उद्योगको पर्खाल भत्किँदा पुरिएर ३ जना कामदारको मृत्यु भएको छ।

बुधबार बिहान १० बजेतिर रत्ननगर-१२ शान्तिकुञ्ज टोलमा रहेको किसान दाना उद्योगको पर्खाल भत्किएको हो।

पर्खालले पुरेका ५ जना कामदारमध्ये ३ जनाको मृत्यु भएको जिल्ला प्रहरीका डिएसपी रवीन्द्र खनालले जानकारी दिए।

मृत्यु हुनेमा चितवनको खैरहनी-२ बस्ने ४५ वर्षीय शुकराम दराई, गोरखा घर भई हाल रत्ननगर-१२ बस्ने ५४ वर्षका रेशम दमाई, चितवनको रत्ननगर-१२ बस्ने अन्दाजी ४५ वर्षका कमल गुरुङको मत्यु भएको डिएसपी खनालले बताए।

उक्त घटनामा पर्सा घर भई हाल रत्ननगर-१२ बस्ने अन्दाजी ३९ वर्षका जितेन्द्र महतोको हात खुट्टामा चोट लागेको र पर्सा घर भई हाल रत्ननगर-१२ बस्ने ४० वर्षीय अंकजप्रसाद थारूको हात खुट्टामा चोट लागेको प्रहरीले जनाएका छन् ।