जेनजी प्रदर्शनबाट देशले अकल्पनीय क्षति व्यहोर्नुपर्यो: प्रहरी महानिरीक्षक खापुङ
काठमाडौँ, ३१ असाेज । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले गत भदौ २३ र २४ गतेको ‘जेनजी’ पुस्ताको प्रदर्शन र त्यसपछिका घटनाक्रमबाट देशले अकल्पनीय क्षति व्यहोर्नुपरेको बताएका छन्।
शुक्रबार ७०औँ प्रहरी दिवस, २०८२ को अवसरमा आयोजित अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले नेपाल प्रहरी राज्यको सबैभन्दा अग्रपङ्क्तिमा सेवारत, विशाल संयन्त्रयुक्त सङ्गठनको रूपमा विकसित भएको र आजका दिनसम्म नागरिकको स्नेह तथा आक्रोश समानान्तर रूपमा प्राप्त र सामना गर्ने राज्यको सशक्त प्रतिनिधिको रूपमा स्थापित हुन सफल भएको बताए।
प्रहरी महानिरीक्षक खापुङले राजनीतिक परिवर्तनको वर्तमान परिस्थितिमा र आगामी दिनहरूमा समेत उत्पन्न हुन सक्ने सुरक्षा चुनौती र असहज परिस्थितिको सामना गर्दै आम नागरिकलाई शान्ति सुरक्षा र अमन चयनको प्रत्याभूति दिलाउन, तथा नागरिक भरोसाको केन्द्रको रूपमा रहेको नेपाल प्रहरी व्यावसायिक रूपमा सक्षम तथा प्रतिबद्ध रहेको उल्लेख गरे।
उनले देशका विभिन्न ९ सय ३९ स्थानमा नयाँ प्रहरी इकाइको माग र चार सयभन्दा बढी इकाइमा प्रहरी कार्यालयको स्तरोन्नतिको माग रहेको जानकारी दिँदै, यसको पूर्तिका लागि २५ हजारभन्दा बढी प्रहरी जनशक्ति आवश्यक रहेको बताए।
खापुङले भने, ‘गत भदौ २३ र २४ गतेको जेनजी पुस्ताको युवा तथा विद्यार्थीको प्रदर्शन त्यसपश्चात्का घटनाक्रमबाट देशले अकल्पनीय क्षति व्यहोर्नुपरेको छ। उक्त प्रदर्शनको क्रममा नेपाल प्रहरीका सदस्य र ज्यान गुमाउनुभएका अन्य दिवङ्गत आत्माहरूको चीर शान्तिको कामना गर्दछु।’
उनले प्रहरीको बोली, वचन र व्यवहार सुधार गर्न पनि जरुरी रहेको र प्रहरीभित्र पनि शुद्धीकरण तथा सुधारका प्रशस्त आवश्यकताहरू रहेको औँल्याए।