कार्यवाहक सभापति खड्काले भने प्रतिनिधिसभा विघटन असंवैधानिक

काठमाडौं, १० कात्तिक । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रतिनिधिसभा असंवैधानिक रूपमा विघटन भएको बताउनुभएको छ ।

भ्रातृ संगठन नेपाल तरुण दलको ७३औँ स्थापना दिवसका अवसरमा सोमबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा आयोजित समारोहमा उहाँले जेनजी आन्दोलनको बलमा गठन भएको अन्तरिम सरकारबाट असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन भएको बताउनुभएको हो ।

“प्रतिनिधिसभा असंवैधानिक तवरले विघटन भयो,” खड्काले भन्नुभयो, “यस सेरोफेरोमा हामी तरुण दलको स्थापना दिवस मनाउँदैछौँ।” उहाँले जेनजी आन्दोलनका कारण मुलुक अप्ठ्यारोमा परेका बेला आगजनीबाट क्षतिग्रस्त शीतलनिवासको आँगनमा बसेर राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको रक्षा गरेको पनि बताउनुभयो ।

खड्काले तरुण दललाई अत्यन्त जुझारूपनका साथ तर अनुशासनमा रहेर सिंगो देश र नागरिकको रक्षाका लागि एकताबद्ध हुन आग्रह गर्नुभयो ।