अञ्जना टाइब्रेकरमा चम्केपछि नेपालले भारतलाई हरायो

काठमाडौँ, कात्तिक १२ गते । वैकल्पिक गोलकिपर अञ्जना राना मगरले दुई पेनाल्टी रोकेपछि नेपालले बुधबार मैत्री महिला फुटबल खेलमा भारतलाई टाइब्रेकरमा ३–० ले हराएको छ ।

भारतको सिक्किमस्थित पाल्जोर रङगशालामा भएको खेलको निर्धारीत समय १–१ ले बराबरीमा सकिएपछि टाइब्रेकरमा निर्णय भएको हो । पेनाल्टी सुटआउटमा नेपालका लागि सविता राना मगर, रश्मिकुमारी घिसिङर निशा थोकरले गोल गरे । कप्तान अनिता बस्नेतले भने पेनाल्टीमा गोल गर्न सकिनन् ।

यसैगरी गोलकिपर अञ्जनाले प्रियदर्शनी र अस्तम ओरामको पेनाल्टी विफल पारिन् । सन्तोषले गोल गर्न सकिनन् । खेलको अन्तिम समयमा उषा नाथको स्थानमा अञ्जना मैदानमा प्रवेश गरेकी हुन् ।

यसअघि खेलको ३० औँ मिनेटमा निशाले ‘क्लियर’ गर्ने क्रममा गल्ती गरेपछि बल पाएकी सौम्यले गोल गरी भारतलाई अगाडि पारेकी थिइन् । पूर्वार्धको इन्जुरी समयमा अनिताको कर्नरमा रश्मिले हेडमार्फत् बराबरी गोल गरिन् ।

यसअघि त्रिदेशीय महिला फुटबलमा पनि नेपालले भारतलाई हराएको थियो । सो खेलमा नेपाल २–१ ले विजयी भएको हो ।