संविधानलाई नै पङ्गु बनाएर सुशीला कार्की प्रधानमन्त्री बन्नुभयोः अधिवक्ता प्रेमराज सिलवाल (भिडियो अन्तर्वार्ता)

सिलवालले पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली, पूर्व गृहमन्त्री तथा नेपाली काङ्ग्रेसका नेता रमेश लेखक, पूर्व गृह सचिव गोकर्णमणि दुवाडी, पूर्व राष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा तथा पूर्व प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको विदेश भ्रमणमा रोक लागाउन भन्दै पासपोर्ट रोक्कासम्बन्धी आवश्यक कारबाही गर्न तथा उल्लिखित व्यक्तिहरूलाई काठमाडौँ उपत्यका बाहिर जानमा समेत रोक लगाउने गरी गैरकानुनी निर्णय गरेको भन्दै त्यसका विरूद्ध अधिवक्ता सिलवालले सर्वाेच्च अदालतमा रिट दायर गरेपछि उहाँको थप चर्चा चुलिएको हो ।

तत्कालीन प्रधानमन्त्री ओली, तत्कालिन गृहमन्त्री लेखकलगायतलाई स्थानहद तोक्दै राहादानीसमेत रोक्न जेनजी आन्दोलनपछि बनेको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले सरकारलाई सिफारिस गरेपछि त्यसको चर्चा र आलोचना दुबै भयो । तर, सिलवालले यो पहिलो दृष्टिमै त्रुटिपूर्ण रहेको भन्दै सर्वोच्चमा रिट दायर गर्नुभयो । त्योसँगै सिलवालले संसद पुर्नस्थापनाका लागि पनि सर्वोच्चमा रिट दायर गर्नुभयो ।

उहाँले उल्लिखित व्यक्तिहरूको सम्मानपूर्वक बाँच्न पाउने अधिकार हक र अन्तर्राष्ट्रिय कानुन र नेपालको संविधान तथा कानुनले समेत प्रदान गरेका न्यूनतम हकको हनन गरिएको कुरा रिटमा जिकिर गर्नुभएको छ । राजनीतिक पूर्वाग्रह साँधेर कानुन, कानुनी मान्यता र फौजदारी कानुनको आधारभूत प्रबन्ध तथा मान्यताविपरित कार्की सरकारले कार्य गरेकोले सो आदेश विरुद्ध उत्प्रेषणको आदेशको माग पनि उहाँले गर्नुभएको छ ।

उक्त सरकारी निर्णय र गैरकानुनी पत्र खारेजी गर्दै अब आइन्दा कसैलाई पनि यसरी गैरकानुनी रोक नलगाउनु, नगर्नु भन्ने समेतको परमादेश र उपयुक्त आज्ञा आदेशको माग रिटमा गरिएको छ । उहाँले दिएको रिटमा आज अदालतले विपक्षीसँग लिखित जवाफ माग गरेको छ भने संसद पुर्नस्थापनाका सन्र्दभमा पनि बहस जारी छ । यी दुबै रिटपछि उहाँको थप चर्चा चुलिएको छ ।

सिलवालले सिलवालले संवादका क्रममा नेपालको संविधान २०७५ को विभिन्न प्रावधानहरु हेर्ने हो भने धारा २, धारा ७६, धारा १३२, अब राष्ट्रपतिको हिसाबले धारा ६१, संसद विघटन गर्ने भनेर धारा ८४ र सबै संविधानको स्ट्रक्चर, लेटर एन्ड स्पिरिट हेर्ने हो भने ७६ को व्यवस्था बाहेक संसद विघटन गर्ने अवस्था नभएको पनि उल्लेख गर्नुभयो ।

‘त्यसकारणले यो प्रथम दृष्टिमा नै गैरसंवैधानिक हो, गैरकानुनी हो,झ् उहाँ भन्नुहुन्छ, ‘भदौ २७ गते प्रधानमन्त्री सुशीला कार्की ज्यूको नेतृत्वमा जुन सरकार बन्यो । त्यसलाई आगजनी भयो अथवा असुरक्षा भयो अथवा आन्दोलन भयो भन्ने नाममा गरियो भनिएको छ । त्यो संविधानलाई पंगु बनाउने कुरा हो । भोलिका दिनमा अरुले पनि आगजनी गर्ला । अरुसँग पनि त बाल्नलाई सलाई छ । दुईवटा काँटी सलाई भए पुग्छ । त्यसैले कसैले आगजनी गर्यो, सार्वजनिक सम्पत्ति तोडफोड गर्यो, लुट्यो, चोर्यो तर त्यसलाई आन्दोलनको नाममा त्यसैलाई आधार बनाएर संविधानमा व्यवस्था नभएको कुरा गर्न पाइन्न ।’

उहाँले संविधानको धारा १३२ ले प्रधानन्यायाधीश भएको मान्छेलाई प्रधानमन्त्रीमा नियुक्ति नगर्नु भनेकै भन्दै सम्माननीय प्रधानमन्त्री सुशीला कार्की आफैले खिलराज रेग्मीको मुद्दामा बहस गर्दा फरक मतसहित यस्तो गर्नै हुँदैन । अब आइन्दा कहिल्यै नगर्नु भनेर लेख्नुभएको स्मरण पनि गराउनुभयो । ‘उहाँ आफैँले व्याख्या गरेर आफैँले सिग्नेचर गरेर लेखेको छ । यो कुनै हालतमा मिल्दैन भनेर, त्यो आधारले पनि मिल्दैन । हाम्रो डेमोक्रेटिक एक्सरसाइज, डेमोक्रेटिक प्राक्टिस, सिरिया, यमन, अफगानिस्तान, इराक, नाइजेरिया जस्तो हालतमा देशलाई पुर्याउने हो ? त्यो त होइन होला,’ सिलवालले भन्नुभयो, ‘त्यसैले प्रत्येक दुई–चार महिनामा फेरि एउटा ग्रुप आउँछ, अर्कोले हतियार उठाउँछ, फेरि सरकार बन्छ, फेरि अर्को चार–छ महिना चल्छ, फेरि अर्को ग्रुप आउँछ, अर्काले फोड्छ । यसरी बनाउने हो सरकार ? यसरी चलाउने हो यो देश ?’

उहाँले भदौ २३ गतेको आन्दोलन र २४ गतेको विनासपछि राजनीतिक दलहरुको वैधानिकता नै सकियो त्यसकारण अब जे गर्दा पनि हुन्छ भन्ने खालको मनोविज्ञानले पनि काम गरिरहेको छ नि भन्ने प्रश्नलाई भेडो तर्क भएको जवाफ दिनुभयो । ‘यस्तो तर्कलाई चाहिँ भेडो तर्क, जोकर तर्क, गोरु तर्क भन्न सकिन्छ । हामी डेमोक्रेसीमा छौँ, मल्टिपार्टी डेमोक्रेसीमा छौँ, दलीय व्यवस्थामा छौँ भने संसद भवन पोल्यो, संसद सकियो ? यसरी अर्थ गर्ने हो ?,’ उहाँले भन्नुभयो, ‘सर्वोच्च अदालत पोल्यो, न्यायालय सकियो, न्याय मर्यो, सम्पूर्ण कानुनी व्यवस्था मर्यो, विधिको शासन मर्यो, हो र ? सिंहदरबार जल्यो नेपाल सरकार नै सकियो, सबै सकियो हो र ? एमाले पार्टी कार्यालय जल्यो, कांग्रेसको जल्यो, के–के जल्यो । सबै दलीय व्यवस्था नै जल्यो ? सबै सकियो ? संसद भित्र ¥याकमा राखेका संविधानका किताब जले । सबै संविधान नै जल्यो ? जिरोमा भयो त ? सिंहदरबार र सर्वोच्च जले पनि विधिको शासन सकिएको छैन । मल्टिपार्टी डेमोक्रेसीको विकल्पै छैन । दलीय व्यवस्था, दलहरुको विकल्पै छैन । दल चाहिन्छ । ठीक छ एमाले कमजोर होला, नेपाली कांग्रेस कमजोर होला जनताले पत्यायो भने उहाँले संगठन गर्नुभयो भने जनताले विश्वास गरे भने त्यसको ठाउँमा अरु नयाँ शक्ति आउनुहोला । तर दलको विकल्प त केही अराजक मान्छे या अराजकता हुनसक्दैन ।’

उहाँले आगो लाग्यो, नयाँ कोर्स सुरुभयो भनेर अब दल सकिए अब तिमीहरुले फेरि किन भूमिका खेलेको ? तिमीहरु किन उठ्यौ ? तिमीहरु किन जुर्मुराएको ? तिमीहरुले किन संवैधानिक, कानुनी प्रश्न उठाएको ? भन्ने तर्क गर्नु नहुनेमा जोड दिनुभयो । ‘दल, दलीय व्यवस्था छ, दलीय व्यवस्था चाहिन्छ, संविधान छ, संविधान चाहिन्छ, संविधानवाद चाहिन्छ । ‘रुल अफ ल’ चाहिन्छ,’ उहाँले भन्नुभयो, ‘दलले निर्वाचनमा भोट कम ल्याउन सक्लान्, साना होलान् । उहाँहरुको संसदमा प्रतिनिधित्व सानो होला । तर, दल हराउने होइन नि । अहिले नेमकिपा भन्ने दल छ । उसले एउटा मात्रै सिट जित्छ । तर, नेमकिपाको नारायणमान बिजुक्छेले बोलेको भ्वाइस, पोलिटिकल ओपिनियनहरु अहिले पनि महत्वपूर्ण छन् । अहिले पनि उहाँले नेपाली राजनीतिमा एउटा असल संस्कृति, असल संस्कार, एउटा पोलिटिकल कल्चर देखाइरहनुभएको छ ।’

उहाँले दल सचिनुपर्यो, सुशासन हुनुपर्यो भन्ने तर्क जायज भएको भन्दै त्यसका लागि धर्ना वस्न, जुलुस गर्न शान्तिपूर्ण प्रक्रिया गर्न पाइने भन्दै आन्दोलनका नाममा अपराध गर्ने छुट कसैलाई नभएको उल्लेख गर्नुभयो । ‘अपराधलाई छुट्ट्याउनै पर्छ । अपराधलाई छुट्याइएन कारबाही भएन भने त्यसले भविष्यमा पनि थप समस्या निम्त्याउँछ । यो अन्तिम आन्दोलन होइन, न पहिलो आन्दोलन नै हो । पहिलो कुरा आन्दोलन यो आन्दोलनको नियम भित्रै थिएन भन्ने म सँग तर्क धेरै छन् । आन्दोलनमा त मागहरु हुन्छ, नेतृत्व हुन्छ, जिम्मेवारी हुन्छ, भूमिका हुन्छ, अपनत्व हुन्छ ।

सिलसिलाभर हुन्छ, वान, टु, थ्री, फोर, फाइभ, सिक्स हुन्छ । ‘गिभ एन्ड टेक’ हुन्छ । लजिक हुन्छ, बहस हुन्छ, छलफल हुन्छ । ठूलो भीड मात्रै आन्दोलन होइन । ठूलो भीड मात्रै भयो भने हिंस्रक आन्दोलन हुन्छ । हामीले विश्वका आन्दोलन हेरेका सुनेका छौँ,’ उहाँले भन्नुभयो, ‘एउटा मुसाले घरमा धान खायो भनेर मुसा मार्ने भनेर रिसको झोकमा त्यो मुसा चाहिँ पल्लो घरमा गयो भनेर घरै बाल्दिने कुरा बेठिक हो । मुसा त्यहाँबाट पल्लो घरमा गयो कि भाग्यो कि थाहा छैन । तर, त्यो धान पूरै जल्यो, घर जल्यो, मकैको त्यो कुन्यु नै जल्यो । अहिले भएको त्यहि हो ।’ उहाँले यो आन्दोलनसँग जोडेर अर्को तर्क पनि गर्नुभयो । ‘स्यालले एउटा कुखुरा चोर्यो र त्यो स्याल वनमा गयो भनेर वनमा दुई काँटी सलाई लाएर वनै बढाइदिनुभयो भने वनको हरियाली जान्छ । वनको वातावरण जान्छ । वनका रुख बिरुवा केही पनि रहेनन् भने तपाईंको जीवन सहज होला त ?’

मैत्रिन्युजले उहाँसँग मुख्य गरेर यी दुई विषयमा केन्द्रित भएर कुराकानी गरेको छ । उहाँसँगको भिडियो कुराकानीः

Leave a Reply

Your email address will not be published. Required fields are marked *