सोमबारदेखि लाइसेन्स छपाइ सुरु, क्यूआर कोडसहितको स्मार्ट कार्ड आउँदै

काठमाडौँ, १६ कात्तिक । सुरक्षण मुद्रण केन्द्रले सोमबारदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइ सुरु गर्ने भएको छ ।

यातायात व्यवस्था विभागका अनुसार दैनिक कम्तीमा ५०० को दरले लाइसेन्स छापिने जनाएकाे छ । विभागका निर्देशक नरहरि तिवारीका अनुसार सुरक्षण मुद्रण केन्द्रले बनेपामा छपाइ गरेर विभागलाई हस्तान्तरण गर्नेछ । यसपछि विभागले चालकलाई वितरण गर्नेछ ।

यातायात व्यवस्था विभागले करिब २५ लाख सवारी लाइसेन्स छाप्न बाँकी रहेको जनाएको छ । यीमध्ये १२ लाख लाइसेन्स केन्द्रले छाप्ने भएको छ ।

विभागले चिपको सट्टा क्यूआर कोड प्रयाेग गर्ने

यसअघि यातायात व्यवस्था विभागले छाप्दै आएको लाइसेन्समा चिप जडान गरिएको थियो । अब भने सुरक्षण मुद्रण केन्द्रबाट छपाइ हुने स्मार्ट सवारी चालक अनुमति पत्र (लाइसेन्स) मा चिपको सट्टा क्यूआर कोड प्रयोग गरिनेछ । केन्द्रका उपसचिव गोपालराज तिमिल्सिनाले नयाँ लाइसेन्सको स्वरूप परिवर्तन हुने र त्यसमा क्यूआर कोड राखिने बताएका छन् ।

“कार्ड स्मार्ट नै हो, तर त्यसमा चिप हुँदैन, क्यूआर कोड हुन्छ,” तिमिल्सिनाले भने । केन्द्रबाट छाप्न लागिएको लाइसेन्स पनि स्मार्ट कार्ड नै हुने उनको भनाइ छ ।

लाइसेन्स छपाइका लागि गत बुधबार यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेल र केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाबीच समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।