एकीकृत समाजवादीको यात्रा टुंगिएसंगै झाँक्री र श्रेष्ठ एमालेमै फर्किने तयारी

काठमाडौँ, १९ कात्तिक । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले उक्त पार्टीसँगको यात्रा र अध्याय सकिएको बताएकी छन् । बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै नेतृ झाँक्रीले एकीकृत समाजवादी आजै दिउँसो १ बजेबाट विघटन हुने भएसँगै उक्त पार्टीसँगको आफ्नो यात्रा पनि टुंगिएको बताइन् ।

आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एकीकृत समाजवादीकी संस्थापक नेता समेत रहेकी झाँक्रीले पार्टी विघटनमा गएको र आफूहरूको यात्रा पनि टुंगिएको बताएकी हुन् ।

माधव कुमार नेपालको नेतृत्वमा एकीकृत समाजवादीले नेकपा माओवादी केन्द्रसँग पार्टी एकताको निर्णय गरे पनि रामकुमारी, किसान श्रेष्ठ लगायतले निर्णयमा विमति जनाउँदै आएका छन् । 

नेतृ झाँक्रीले एमाले र माओवादी मिलेर नेकपा बनेसँगै पार्टीभित्रको लोकतन्त्र समाप्त भएको तथा आज माओवादी र एकीकृत समाजवादी लगायतको एकताले पनि लोकतन्त्र नासिने ठोकुवा गरिन् । माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ दलबिच आजै पार्टी एकता हुँदैछ । एकीकृत पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ रहने नेताहरूले बताएका छन् । उनी अहिले एमालेमै फर्किने तयारीमा छिन् ।

त्यसैगरि नेकपा एकीकृत समाजवादी छाडेर एमाले प्रवेशको तयारीमा रहेका नेता किसान श्रेष्ठले देशभरका नेता–कार्यकर्तासँग छलफल गरेर, केही दिन अभियान चलाएपछि एमालेमा फर्कने बताएका छन् ।यो समूहको तर्फबाट बुधबार आयोजना गरिएको पत्रकार सम्मेलनमा नेता श्रेष्ठले सबैको सरसल्लाहपछि औपचारिक कार्यक्रम गरेरै एमाले प्रवेश गर्ने बताए ।

पत्रकार सम्मेलनमा नेता श्रेष्ठले आफूहरू विना सर्त एमालेमा फर्कन लागेकाले त्यो वातावरण बनाइदिन आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *