नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमको निधन
काठमाडौं, २२ कात्तिक। नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन भएको छ ।
स्वास्थ्य अवस्थामा गम्भीर समस्या देखिएको आलमकाे काठमाडौं मेडिकल कलेज (केएमसी)मा भेन्टिलेटरमा राखेर उपचार भइरहेको उनको गएराति साढे २ बजे निधन भएको अस्पताल स्रोतले जनाएकाे छ ।
उनलाई दुई साता अगाडि अस्पतालमा भर्ना गरिएको थियाे । सिधै आईसीयुमा राखेर उपचार गरिएको थियाे र अवस्था झन् जटिल बनेपछि भेन्टिलेटरमा राखिएको थियाे ।
संविधानसभा निर्वाचनको अघिल्लो राति २७ चैत २०६४ मा रौतहटको राजपुरस्थित आलमका काका शेख इन्द्रिसको घरमा बम बनाउने क्रममा विस्फोट हुँदा श्रीनारायणका कान्छा छोरा २२ वर्षीय त्रिलोकप्रताप सिंह र स्थानीय ओशी अख्तरसहित घाइते भएका थिए ।
घाइतेहरूलाई उपचारको साटो जिउँदै इँटाभट्टामा लगेर जलाएर हत्या गरेको मुद्दामा उनलाई जिल्ला अदालत रौतहटले दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो । पछि उच्च अदालतले जिल्लाको फैसला उल्टाएपछि उनी थुनामुक्त भएका थिए। त्यसलगत्तै उनलाई ब्रेन स्ट्रोक भएको थियो ।