चलचित्र क्षेत्रका सिर्जनात्मक उद्योग विकास गर्न काठमाडौँले काम गरिरहेको उपप्रमुख डंगोलको भनाइ
काठमाडौँ, कार्तिक ३० । काठमाडौँ महानगरपालिकालाई चलचित्र क्षेत्रको विकासका लागि उपयुक्त मञ्चका रुपमा विकास गरिरहेको बताउँदै उपप्रमुख सुनिता डंगोलले, यो सहर राष्ट्रिय अन्तरराष्ट्रिय कलाकार, लेखक, सिर्जनाकार, प्राविधिक, उद्यमी, पेशाकर्मीका ज्ञान, सिप र अनुभव आदानप्रदान गर्ने साझा थलोका रुपमा विकास गरिरहेको जानकारी दिनुभएको छ । युरोपियन युनियनको १४ औँ नेपाल फिल्म फेस्टिभलको उद्घाटन अवसरमा बोल्दै उहाँले, युनेस्को क्रियटिभ सिटिज नेटवर्कमा सदस्य भइसकेपछि चलचित्र उद्योगको विकासका लागि काम थालिएको उल्लेख गर्नुभयो ।
‘काठमाडौँलाई सांस्कृतिक, हरित, सहभाव र सद्भावमा आधारित, मानवबसोबास अनुकुल सहरका रुपमा विकास गर्ने नीति योजना तथा कार्यक्रममा काम भइरहेको छ ।’ उहाँले भन्नुभयो, ‘काठमाडौँको यो विशिष्ट पहिचान चलचित्रको विकास लागि अनुकुल अवस्था हो । यो परिवेशलाई उच्च उपयोग गर्न विश्वका विभिन्न सहरहरुसँग सहकार्य गर्न तयार छौँ ।’
प्राचीन संरचनायुक्त सहरमा आधुनिक र परम्परागत जीवनशैली काठमाडौँको पहिचान रहेको हो । यसको मर्मलाई जोगाउँदै चलचित्र शिक्षा, प्रविधि र सञ्चारका क्षेत्रमा सहकार्य गर्न हामी खुला छौँ । उहाँको भनाइ थियो ।
त्यस क्रममा नेपालका लागि नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेञ्जोले काठमाडौँको सांस्कृतिक विविधता अतुलनीय रहेको बताउँदै महानगरपालिकासँग सहकार्य गर्न तत्पर रहेको बताउनुभयो ।
शुक्रबार ‘द गर्ल फर्म टुमरो’ चलचित्र प्रदर्शनबाट फेस्टिभल सुरु भएको थियो । त्यस अवसरमा काठमाडौँको चलचित्र सम्बन्ध र सञ्जालका विषयमा कुराकानी भएको थियो । विश्वमा देशहरुलाई छुट्याउन कोरिएका प्रशासनिक तथा अन्य सीमा छिचोलेर फेस्टिभलले कथा, पात्र र मानवीय अनुभूतिमार्फत समान र सीमाविहिन बनाउने अपेक्षा गरिएको छ ।
यस फेस्टिभलमा नेपाली ९ वटा छोटा चलचित्र, युरोपियन १० वटा र व्रिटिस एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन आर्टस् (वी.ए.एफ.टी.ए.) बाट मनोनयन भएका ६ वटा गरी २५ वटा चलचित्र समावेश छन् ।
काठमाडौँ पछि पोखरामा चलचित्र प्रदर्शन हुनेछन् ।