बाला चतुर्दशी व्यवस्थित गर्न १८ घण्टा कर्मचारीलाई सेवामा खटाइने

काठमाडौँ, १ मङ्सिर । यस वर्षको बाला चतुर्दशी मेलालाई थप व्यवस्थित बनाउन पशुपति क्षेत्र विकास कोषले आफ्ना सबै कर्मचारीलाई कम्तीमा १८ घण्टा काममा खटाउने भएको छ।

कुनै पनि कर्मचारीलाई बिदा नदिई मंसिर २ गते मंगलबार बिहानदेखि मंसिर ३ गते बुधबार शतबीज छरेर मेला सम्पन्न नभएसम्म उनीहरूलाई पशुपति क्षेत्रमा खटाउने निर्णय भएको कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले जानकारी दिनुभयो।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलको अध्यक्षतामा बसेको बाला चतुर्दशी मेला पर्व तयारी बैठकले यो निर्णय गरेको हो।

यसैगरी, गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सहिद भएकाहरूको नाममा कोषले पशुपति क्षेत्रमा बत्ती बाल्ने निर्णय पनि गरेको छ। बत्ती बाल्न जेनजी सहिदको न्वारानको नाम र गोत्र उपलब्ध गराउन कोषले सबैमा अनुरोध गरेको छ। जेनजी सहिद परिवार आफैँ रातभर बसेर बत्ती बाल्न चाहेमा रुद्रगारेश्वर क्षेत्रमा विशेष व्यवस्था गरिएको छ।

पशुपतिनाथ मन्दिर प्राङ्गण परिसरमा बत्ती बालेर रात बस्न नदिने निर्णय भएको सदस्यसचिव जोशीले बताउनुभयो। पशुपतिनाथको मूल मन्दिर परिसरभित्र भक्तजनको घुइँचो हुने भएकाले कुनै पनि किसिमका निःशुल्क सामग्री वितरण गर्नेलाई स्थान दिइने छैन।

बत्ती बाली बस्ने भक्तजनका लागि कोर क्षेत्र, कैलाश, भकुण्टोल, वनकाली, हंसमण्डप, चारशिवालय, अन्य खाली स्थानहरूमा पाल, सायर टाँग्ने व्यवस्थाका लागि नेपाली सेनालाई अनुरोध गरिएको छ। नपुग भएका अन्य स्थानमा कोषले पाल, सायरको व्यवस्था गर्नेछ।

पशुपति क्षेत्रको कोर क्षेत्रस्थित वत्सलेश्वरी डबलीमा शथ्या, चिकित्सक, एम्बुलेन्ससहितको स्वास्थ्य शिविर राखी सेवा प्रदान गर्न नेपाली सेनालाई अनुरोध गरिएको छ। अन्य संस्थाले स्वास्थ्य शिविर राख्न स्थान माग गरेमा कोर क्षेत्र बाहिर राख्न दिने निर्णय भएको निमित्त सदस्यसचिव जोशीले बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *