‘गाडीमाथि मसी छ्याप्ने प्रयास लोकतान्त्रिक संस्कार होइन’ – महेश बस्नेत
काठमाडौँ, मङ्सिर ७ । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले विराटनगरमा आफू चढेको गाडीमाथि भएको दुव्र्यवहारको प्रयासप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ ।
आज बिहान विराटनगर विमानस्थल परिसरमा उहाँको गाडीमा रातो मसी छ्याप्ने प्रयास भएको थियो । नेता बस्नेतले सामाजिक सञ्जालमार्फत उक्त कार्यमा संलग्न युवाहरू अर्पित कुँवर र सञ्जोग गौतम नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) मा आबद्ध रहेको जानकारी आएको बताउनुभएको छ ।
घटनाप्रति प्रतिक्रिया दिँदै बस्नेतले भन्नुभएको छ, “लोकतन्त्रमा विरोध गर्ने अधिकार सबैलाई छ, तर आक्रमण र अमर्यादित व्यवहार स्वीकार्य हुँदैन ।” उहाँले शान्तिपूर्ण विरोध र स्वतन्त्र आवतजावत गर्न पाउने नागरिकको नैसर्गिक अधिकारमाथि प्रहार भएको भन्दै घटनाको निन्दा गर्नुभएको छ । साथै, घटनालगत्तै सुरक्षा निकायले देखाएको तदारुकताप्रति धन्यवाद दिँदै उहाँले हिंसा नभई संवादबाटै अघि बढ्न आह्वान गर्नुभएको छ ।
