नेपाल प्रिमियर लिग : सुदूरपश्चिम रोयल्सको अपराजित यात्रा कायम, पहिलो क्वालिफायरमा स्थान सुरक्षित

काठमाडौँ, १८ मङ्सिर । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा जित निकाल्दै सुदूरपश्चिम रोयल्सले आफ्नो अपराजित यात्रा कायम राखेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवन राइनोजलाई ४९ रनले पराजित गर्दै सुदूरपश्चिम रोयल्सले छ खेलमा सबैमा जीत निकाल्दै १२ अङ्क जोडेर पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको हो।

जीतका लागि १७० रनको लक्ष्य पछ्याएको चितवन राइनोज १७ दशमलव एक ओभरमा १२० रनमा अलआउट भयो। ‘प्लेअफ’ मा पुग्न जीतको खोजीमा रहेको चितवनका ब्याटर चल्न सकेनन्। चितवनका लागि रवि बोपाराले २९ रन, देव खनालले २८ रन बनाए। साथै अर्जुन साउँदले १६ र कुशल मल्लले १५ रनको योगदान दिए। अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।

सुदूरपश्चिमको जीतमा पुनित मेहराले तीन विकेट लिए भने दीपेन्द्र सिंह ऐरी, हिक्मत महरा, अभिनाश बोहरा र इशान पाण्डेले एक-एक विकेट लिए। तीन जना ब्याटर रनआउट भए।

त्यसअघि, पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ओपनर क्रिस लिनको शानदार अर्धशतकमा २० ओभरमा चार विकेटको क्षतिमा १६९ रन बनाएको थियो।

सुदूरपश्चिमका लागि लिनले रिटायर्ट हर्ट हुनुअघि ७५ रन बनाए। ५६ बल खेल्ने क्रममा उनले तीन छक्का र पाँच चौका प्रहार गरे। ओपनर बिनोद भण्डारीले २१ रनको योगदान दिए।
इशान पाण्डेले एक रन मात्रै बनाए भने पुनित मेहराले १३ र हर्मित सिंहले एक रन मात्रै बनाउन सके। आरिफ शेख र दीपेन्द्र सिंह ऐरीले समान २४/२४ रन बनाए।

चितवनका लागि सैफ जाइबले दुई विकेट लिए भने जर्ज स्क्रिमस र रञ्जित कुमारले एक-एक विकेट लिए।