नर्सहरूको लिडरसिप विकासका लागि ‘मिस नेपाल पिस’ को नयाँ संस्करण सुरु

काठमाडौँ, १९ मङ्सिर । नर्सहरूको लिडरसिप विकास गर्दै उनीहरूको व्यक्तित्व निखार्ने उद्देश्यका साथ ‘मिस नेपाल पिस’ को नयाँ संस्करण सुरु भएको छ। आयोजक संस्था नेक्स्ट मोडल्स नेपालले बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताको अडिसनबारे जानकारी दिएको हो।

केही अगाडिदेखि आवेदन खुल्ला भएको प्रतियोगीताको छनौट चरणको अडिसन डिसेम्बर २० गतेबाट हुनेछ।
एनक्लेकेस् नेपाल मुख्य प्रायोजक रहेको यस प्रतियोगितामा १७ देखि २८ वर्षसम्मका नर्स तथा नर्सिङ अध्ययनरत युवतीहरूले भाग लिन सक्नेछन्। प्रतियोगिताको आवेदन फारम ‘खल्ती’ एपमा उपलब्ध छ। अडिसनको समय र स्थान भने केही दिनपछि जानकारी दिने आयोजकले जनाएको छ।

प्रतियोगिताका शीर्ष विजेताले नगद एक लाख रुपैयाँ, सन् २०२६ मा थाइल्याण्डमा आयोजना हुने ‘मिस ग्लोबल’, चीनमा हुने ‘मिस वर्ल्ड पिस’ र भियतनाममा आयोजना हुने ‘मिस प्लानेट इन्टरनेसनल’ मा नेपालको प्रतिनिधित्व गर्ने अवसरका साथै ५ लाख बराबरको विभिन्न उपहारसमेत जित्न सक्नेछन्।

‘सशक्त महिला, सबल राष्ट्र’ भन्ने नाराका साथ आयोजना हुँदै आएको यो नर्सहरू सहभागी हुने स्वास्थ्य पेसासँग सम्बन्धित एकमात्र सामाजिक सौन्दर्य प्रतियोगिता हो। प्रतियोगितामा देशभरका नर्स तथा नर्सिङ कलेजमा अध्ययनरत युवतीहरूले सहभागिता जनाउन सक्नेछन्। छनोट चरणको अडिसनबाट छानिएका प्रतियोगीलाई विभिन्न प्रशिक्षण दिएर अन्तिम चरणका लागि तयार पारिनेछ। आयोजक संस्था नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाका अनुसार, प्रतियोगिताको प्रारम्भिक चरणमा देशभरका चार दर्जन नर्सिङ कलेज तथा एक सयभन्दा बढी अस्पतालमा कार्यरत नर्सहरूको उत्साहजनक सहभागिता रहनेछ।

अन्तर्राष्ट्रिय स्तरमै शान्तिको सन्देश फैलाउँदै नर्सिङ पेसामा आबद्ध तथा अध्ययनरतहरूलाई पेसा र समाजप्रति थप उत्तरदायित्व बोध गराउने उद्देश्यले यो प्रतियोगिता आयोजना हुँदै आएको हो। आयोजक संस्थाकी प्रबन्ध निर्देशक यतना पाण्डेले अन्तिम प्रतिस्पर्धाका लागि प्रतियोगीलाई सञ्चार कला, व्यक्तित्व विकास, मोटिभेसन, लिडरसिप, ड्रेस सेन्स, पब्लिक स्पिकिङ, करियर काउन्सिलिङ लगायतका विषयमा प्रशिक्षण दिइने बताउनुभयो। प्रतियोगितामा विभिन्न आधा दर्जन उपविधामा समेत विजेता छानिनेछन्।