एमालेको घरदैलो अभियान सुरु: अभियानले महाधिवेशनबारे जानकारी दिने र जनसहभागिता जुटाउने
काठमाडौँ, २४ मङ्सिर । नेकपा (एमाले) ले आफ्नो एघारौँ राष्ट्रिय महाधिवेशनलाई भव्य बनाउन र जनसहभागिता जुटाउनका लागि राष्ट्रव्यापी घरदैलो अभियान सुरु गरेको छ।
महाधिवेशनको जानकारी दिने र जनतालाई निमन्त्रणा गर्ने उद्देश्यका साथ यो अभियान थालिएको हो।
अभियानको थालनी गर्दै एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आज बिहान काठमाडौँ क्षेत्र नम्बर २ अन्तर्गत वीरेन्द्र चोक र काँडाघारी क्षेत्रका घरघरमा पुगेर स्थानीय जनतासँग भेटघाट तथा छलफल गरेका छन्। उनले महाधिवेशनको महत्व, पार्टीका नीति तथा कार्यक्रमबारे जानकारी गराएका थिए।
यस घरदैलो कार्यक्रमको संयोजन पार्टीका पोलिटब्युरो सदस्य तथा पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले गरिरहेका छन्। अभियानमा केन्द्रीय नेताहरूसँगै बागमती प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुङ्गेल लगायतका प्रदेश तथा स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको छ।
एमालेको एघारौँ राष्ट्रिय महाधिवेशन यही मङ्सिर २७ गतेदेखि काठमाडौँमा सुरु हुँदैछ। पार्टीले यस महाधिवेशनमा कम्तीमा ३ लाखभन्दा बढी जनसहभागिता जुटाउने लक्ष्य राखेको छ। सोही लक्ष्य पूरा गर्न र आम जनतामा महाधिवेशनको सन्देश पुर्याउन घरदैलो अभियानलाई तीव्र पारिएको एमालेले जनाएको छ। महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ भने आगामी राजनीतिक दिशा तय गर्ने अपेक्षा गरिएको छ।