मोरक्कोमा दुई आवासीय भवन भत्किँदा १९ जनाको मृत्यु : १६ घाइते

काठमाडौँ, मंसिर २४ । मोरक्कोको ऐतिहासिक सहर फे्समा दुईवटा चारतले आवासीय भवन भत्किँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा अन्य १६ जना घाइते भएका छन् ।  फे्सको अल-मस्सिरा क्षेत्रमा रहेका ती भवनहरूमा आठ परिवारको बसोबास थियो।  भग्नावशेषमा अझै केही मानिस पुरिएको हुन सक्ने आशंकामा स्थानीय अधिकारी र उद्धारकर्मीहरूले उद्धार कार्यलाई तीव्र बनाएका छन् । अधिकारीहरूले मृतकको सङ्ख्या अझै बढ्न सक्ने चेतावनी दिएका छन् ।

घाइतेहरूलाई उपचारका लागि फे्सस्थित विश्वविद्यालय अस्पताल केन्द्रमा भर्ना गरिएको छ। घटनास्थल वरपरको क्षेत्रलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएर सुरक्षित गर्ने काम गरिरहेका छन् ।

यो घटनालाई पछिल्ला वर्षहरूमा मोरक्कोमा भएका यस्तै प्रकारका दुर्घटनामध्ये सबैभन्दा घातक मानिएको छ । मोरक्कोमा पुराना संरचना भत्किने घटनाहरू पटक-पटक दोहोरिने गरेका छन् ।  

गत वर्ष (फेब्रुअरी) मा फे्सको पुरानो सहरमा एउटा घर भत्किँदा ५ जनाको मृत्यु भएको थियो । सन् २०१६ मा एकै हप्ताभित्र दुईवटा भवन भत्किएका थिए । जसअन्तर्गत पश्चिमी सहर मेराकेशमा घर भत्किँदा दुई बालबालिकाको मृत्यु भएको थियो भने अर्को चारतले भवन भत्किँदा ४ जनाको मृत्यु र दुई दर्जनभन्दा बढी घाइते भएका थिए । सन् २०१४ मा पश्चिमी सहर कासाब्लाङ्कामा तीनवटा भवन भत्किँदा २३ जनाको ज्यान गएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *