सिड्नीको बन्डी बिच गोलीकाण्ड: बाबु–छोराको अन्धाधुन्ध प्रहारबाट १६ को मृत्यु, ४० घाइते
अस्ट्रेलिया, २९ मङ्सिर । अस्ट्रेलियाको सिड्नीस्थित बन्डी बिचमा भएको गोलीकाण्डमा मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ। यहुदीहरूको पर्व ‘हानुका’ को अवसरमा आयोजित कार्यक्रममा बाबु–छोराले अन्धाधुन्ध गोली चलाउँदा यो मानवीय क्षति भएको हो।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार घटनास्थलमै १० जनाको मृत्यु भएको थियो भने उपचारका क्रममा थप ५ जना सर्वसाधारणको ज्यान गएको छ। घटनामा संलग्न एक आक्रमणकारीको पनि मृत्यु भएको छ।
बाबु–छोराद्वारा आक्रमण
न्यू साउथ वेल्स प्रहरीका अनुसार आक्रमणमा बाबु र छोराको संलग्नता रहेको पाइएको छ। बन्डी बिच नजिकैको पार्कमा करिब एक हजार मानिसको उपस्थितिमा कार्यक्रम भइरहेका बेला नजिकैको पार्किङ क्षेत्रको पुलबाट उनीहरूले अन्धाधुन्ध गोली चलाएका थिए।
प्रहरी कारबाहीमा ५० वर्षीय बाबुको घटनास्थलमै मृत्यु भएको छ भने उनका २४ वर्षीय छोरा गम्भीर घाइते अवस्थामा अस्पतालमा उपचाररत छन्। उनीहरूको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन।
साक्षीहरूका अनुसार अत्यधिक भीडभाड रहेको समयमा करिब १० मिनेटसम्म गोली चलेको थियो। गोलीकाण्डमा ४० जना घाइते भएका छन्, जसमध्ये दुई जना प्रहरी अधिकारीको अवस्था गम्भीर रहेको जनाइएको छ। आक्रमणपछि मानिसहरू ज्यान जोगाउन समुद्र किनार र सडकतर्फ भागाभाग गरेका थिए।
घटनाकाे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फ्रान्सेली राष्ट्रपति इमानुएल माक्रोंले पनि गहिरो दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेका छन्। ट्रम्पले ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा यसलाई स्पष्ट रूपमा यहूदीविरोधी आक्रमण भएको बताएका छन्।
