सिकारीको बन्दुक पड्किँदा मकवानपुरमा सहकर्मीको मृत्यु, एक जना पक्राउ

काठमाडाैं, २९ मङ्सिर । मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार खेल्न गएका सिकारीको भरुवा बन्दुक पड्किँदा सहकर्मीको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार, मकवानपुरको राक्सिराङ गाउँपालिका–८, राजराङ्गका ४५ वर्षीय गोपाल ब्लोनले बोकेको भरुवा बन्दुक अचानक पड्किँदा उहाँसँगै सिकार गर्न हिँड्नुभएका मनहरी गाउँपालिका–६, बालुभञ्जाङ निवासी ५० वर्षीय सेते थिङको घटनास्थलमै मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले दिनुभएको जानकारीअनुसार, ब्लोन र सेते दुवै जना एक-एक थान भरुवा बन्दुक बोकेर जङ्गलमा सिकारका लागि हिँडेका थिए। अगाडि हिँडिरहेका ब्लोन लहरामा अल्झिएर लड्दा अचानक बन्दुक पड्किएको थियो। सो बन्दुकको गोली पछिपछि आइरहेका थिङलाई लागी घटनास्थलमै उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनालगत्तै इलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी सुनाचरीबाट खटिएको प्रहरी टोलीले दुवै हतियारसहित ब्लोनलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक बोगटीले बताउनुभयो। घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ।