हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने, पर्याप्त मौज्दात
झापा, १ पुस । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय बिर्तामोडले यस वर्षको हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने जनाएको छ। पर्याप्त मात्रामा मल प्राप्त भइरहेको र वितरण कार्य पनि सुचारु रहेकाले किसानहरूले मलको चिन्ता लिनु नपर्ने भएको हो।
शाखा प्रमुख दीपककुमार राजवंशीका अनुसार शाखामा दैनिक करिब दुई सय मेट्रिक टन मल प्राप्त भइरहेको छ भने सोही परिमाणमा बिक्रीवितरण पनि भइरहेको छ। यसले मलको आपूर्ति र मागबीच सन्तुलन कायम गरेको देखाउँछ।
उहाँका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्म शाखाले १३ हजार ४०७ दशमलव २७५ मेट्रिक टन रासायनिक मल बिक्रीवितरण गरिसकेको छ। राजवंशीले भन्नुभयो, “चालु आवमा १२ हजार ९५३ मेट्रिक टन मल प्राप्त भएको छ भने गत आवको समेत कार्यालयमा ८७३ मेट्रिक टन मल मौज्दात छ।”
शाखा कार्यालयको तथ्याङ्कअनुसार चालु आवको पाँच महिनामा युरिया ७ हजार ७५३ दशमलव २० मेट्रिक टन, डिएपी ५ हजार ३४९ दशमलव ६५ मेट्रिक टन, पोटास २७३ दशमलव ३५ मेट्रिक टन र कृषि चुन ३१ दशमलव ०७५ मेट्रिक टन बिक्रीवितरण गरिएको छ।
हाल शाखामा युरिया १ हजार १०० मेट्रिक टन, डिएपी ६ हजार मेट्रिक टन र पोटास ५ सय मेट्रिक टन मौज्दात रहेको शाखा प्रमुख राजवंशीले जानकारी दिनुभयो। उहाँका अनुसार युरिया प्रतिबोरा ८ सय आठ रुपैयाँ ५० पैसा, डिएपी प्रतिबोरा २ हजार २५८ रुपैयाँ ५० पैसा, पोटास प्रतिबोरा १ हजार ६५८ रुपैयाँ ५० पैसा र कृषि चुन प्रतिबोरा २ सय १५ रुपैयाँमा बिक्री भइरहेको छ। यसरी पर्याप्त मौज्दात र सुचारु वितरण प्रणालीका कारण यस वर्ष हिउँदे बाली लगाउने किसानहरूले रासायनिक मलको अभाव झेल्नु नपर्ने देखिएको छ।