नारायणगढ-हेटौँडा र मुग्लिन-आँबुखैरेनी सडक विस्तारको तयारी तीव्र: फागुनभित्र टेन्डर आह्वान

काठमाडौँ, ६ पुस । एसियाली विकास बैंक (एडिबी) अन्तर्गतको सडक आयोजना निर्देशनालयले फागुनको दोस्रो साताभित्र नारायणगढबाट हेटौँडा र मुग्लिनबाट आँबुखैरेनी क्षेत्रमा सडक स्तरोन्नतिका लागि टेन्डर आह्वान गर्ने तयारी गरेको छ। यस सन्दर्भमा निर्देशनालयले सडक विस्तारको क्रममा पर्ने नयाँ घर टहरा नबनाउन र पुराना घर टहरा परे आवश्यक क्षतिपूर्ति दिने तयारी गरिरहेको जनाएको छ।

यी दुवै क्षेत्रमा सडक स्तरोन्नतिका लागि ठेक्का आह्वान गरिने तयारी तीव्र पारिएको छ। नारायणगढ–हेटौँडा सडक खण्डको डिजाइन अन्तिम चरणमा पुगेको र हाल वन तथा वातावरण मन्त्रालयमा छलफलक्रममा रहेको बताइएको छ। वन तथा वातावरण मन्त्रालयबाट वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) मा टुङ्गो लागेपछि टेन्डरको काम अघि बढ्नेछ। यसका लागि दुई साताभित्र छलफल गरेर स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालय पठाइने निर्देशनालयले जानकारी दिएको छ।

डिजाइन स्वीकृतिका लागि बुधबार सडक विभागसँग छलफल हुँदैछ। डिजाइन स्वीकृत भए बढीमा फागुन दोस्रो साताभित्र ठेक्का आह्वान हुनेछ।

आयोजना कार्यालयले सडक स्तरोन्नति गर्ने खण्डमा नयाँ संरचना नबनाउन मंसिर १९ गते सार्वजनिक सूचना निकालेर अनुरोध गरिसकेको छ। टेन्डर हुन लागेको यस परियोजनाअन्तर्गत बस्ती र बसोबास भएको स्थानमा चार लेनको सडक, एक–एक लेन सर्भिस लेन, सहरी क्षेत्रमा थप दुई लेनको सर्भिस लेन, नाली, फुटपाथ र सवारीसाधन ओहोरदोहोर गर्ने छुट्टाछुट्टै पुल बनाइनेछ।