कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै: महाधिवेशनको कार्यतालिकामाथि छलफल हुने
काठमाडौँ, १० पुस । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (बिहीबार) पनि बस्ने भएको छ । बुधबारदेखि सुरु भएको बैठक आज दिउँसो १ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी बोलाइएको छ ।
पार्टी प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार आजको बैठकमा विशेषगरी १५औँ महाधिवेशनको कार्यतालिका परिमार्जन र महामन्त्री गगनकुमार थापाले प्रस्तुत गर्नुभएको साङ्गठनिक प्रस्तावमाथि केन्द्रित रहेर छलफल हुनेछ । हिजोको बैठकमा सहभागी अधिकांश सदस्यहरूले हालको महाधिवेशन कार्यतालिका अव्यावहारिक रहेको भन्दै त्यसलाई संशोधन गर्नुपर्ने माग राखेका थिए ।
बैठकमा महामन्त्री थापाले क्रियाशील सदस्यता वितरण र महाधिवेशनको प्रक्रियाबारे ब्रिफिङ गर्नुभएको थियो ।
थापाले वडा र क्षेत्रीय अधिवेशन सम्पन्न गरेपछि प्रदेश र जिल्लालाई छाडेर सिधै केन्द्रीय महाधिवेशन गर्ने नयाँ प्रस्ताव अघि सार्नुभएको छ । महामन्त्रीको उक्त प्रस्तावमाथि पार्टीका शीर्ष नेताहरूले आफ्नो धारणा राख्ने क्रम आज पनि जारी रहने प्रवक्ता महतले जानकारी दिनुभयो ।