सुनचाँदीको मूल्यमा नयाँ कीर्तिमान : सुन प्रतितोला २ लाख ६९ हजार ३०० र चाँदी ४ हजार ५८५ पुग्यो
काठमाडौँ, ११ पुस । नेपाली बजारमा सुन र चाँदीको मूल्यले आज पुनः नयाँ ऐतिहासिक रेकर्ड कायम गरेको छ । पछिल्ला केही दिनदेखि लगातार बढिरहेको सुनचाँदीको भाउ शुक्रबार हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६९ हजार ३०० रुपैयाँ कायम भएको छ । यो नेपाली सुन बजारको इतिहासमा अहिलेसम्मकै महँगो मूल्य हो ।
त्यसैगरी, चाँदीको मूल्यमा पनि उच्च वृद्धि भएको छ । आज चाँदी प्रतितोला ४ हजार ५८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । चाँदीको यो मूल्य पनि हालसम्मकै नयाँ कीर्तिमान हो ।
यसअघि गत बुधबार छापावाल सुन प्रतितोला २ लाख ६८ हजार १०० र चाँदी ४ हजार ४२० रुपैयाँमा कारोबार भएको थियो । बिहीबार भने मूल्यमा सामान्य गिरावट आएर सुन २ लाख ६७ हजार ५०० र चाँदी ४ हजार ४०० रुपैयाँमा झरेको थियो । तर, आज एकैदिन सुनमा १ हजार ८०० र चाँदीमा १८५ रुपैयाँको वृद्धि भएर नयाँ उचाइ कायम भएको हो ।
अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको भाउ बलियो हुँदै गएकाले स्थानीय बजारमा त्यसको प्रत्यक्ष असर परेको विश्लेषकहरूले बताएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज विश्व बजारमा सुन प्रतिऔँस ४ हजार ५०० अमेरिकी डलर र चाँदी प्रतिऔँस ७५ डलरमा खरिदबिक्री भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावकै आधारमा महासङ्घले नेपालमा दैनिक मूल्य निर्धारण गर्ने गर्दछ ।