शिक्षा क्षेत्र ध्वस्त पारेर साम्राज्यवादीले स्वार्थ पूरा गर्छन्: अध्यक्ष बिजुक्छेँ

भक्तपुर, १५ पुस । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले प्रत्येक शैक्षिक संस्थाले विद्यार्थीहरूलाई देशभक्त बनाउने शिक्षा दिनुपर्नेमा जोड दिनुभएको छ । भक्तपुरस्थित वागीश्वरी कलेज, वागीश्वरी मावि र वागीश्वरी कलेज अफ म्यानेजमेन्टद्वारा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

अध्यक्ष बिजुक्छेँले साम्राज्यवादी र पुँजीवादी शक्तिहरूले शिक्षा क्षेत्रलाई खतम पारेर मात्र आफ्नो स्वार्थ पूरा गर्ने रणनीति लिएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “आर्थिक रूपमा स्वतन्त्र नभएसम्म देश स्वतन्त्र हुन सक्दैन। त्यसैले पाठ्यक्रमका अलावा विद्यार्थीहरूलाई देशप्रेमको भावना जगाउने शिक्षा दिनु अपरिहार्य छ ।”

हालको शिक्षा प्रणालीले नेपाली युवालाई बाहिर मुलुकमा कामदारका रूपमा जान बाध्य पारिरहेको भन्दै उहाँले यस्तो प्रणालीमा आमूल परिवर्तनको आवश्यकता औंल्याउनुभयो । नेपालले अनिवार्य र निःशुल्क शिक्षा नीति अवलम्बन नगरेसम्म शिक्षा महँगो भइरहने र यसले सर्वसाधारणलाई मारमा पार्ने उहाँको तर्क थियो ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरलाई ज्ञान–विज्ञानको केन्द्र बनाउने लक्ष्यका साथ नगरपालिकाले शैक्षिक गतिविधिहरूलाई प्राथमिकता दिइरहेको बताउनुभयो ।