सफारी चालकमाथि गोली चलाउने सशस्त्रका हवल्दार पक्राउ, लौकही बीओपीका सबै सुरक्षाकर्मी फिर्ता

विराटनगर, १८ पुस । सुनसरीको लौकहीमा सफारी चालकमाथि गोली प्रहार गर्ने सशस्त्र प्रहरी बल (एपीएफ) का हवल्दारलाई प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार भारतीय बजारबाट सामान लिएर नेपालतर्फ आउँदै गरेका सफारी चालक विजय साहमाथि गोली प्रहार भएको थियो, जसका कारण उनको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै सशस्त्र प्रहरीले लौकहीस्थित बोर्डर आउट पोस्ट (बीओपी) मा कार्यरत सबै सुरक्षाकर्मीलाई फिर्ता बोलाएको छ ।

उच्चस्तरीय छानबिन समिति गठन
यस गम्भीर घटनाको सत्यतथ्य पत्ता लगाउन जिल्ला प्रशासन कार्यालय सुनसरीले उच्चस्तरीय छानबिन समिति गठन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी (सीडीओ) घनश्याम न्यौपानेको संयोजकत्वमा गठित समितिमा डिएसपी चन्द्र खड्का र राष्ट्रिय अनुसन्धान विभागका अधिकृत सदस्य रहेका छन् ।

सुनसरीका प्रहरी प्रवक्ता एवं डिएसपी चन्द्र खड्काले गोली चलाउने हवल्दारलाई हिजै नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । “हामीले दोषीलाई नियन्त्रणमा लिएका छौँ, घटनाको विस्तृत विवरण र कारणबारे अनुसन्धान भइरहेको छ,” उनले भने ।

७ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन
सुनसरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेका अनुसार छानबिन समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ । “समितिको प्रतिवेदन आएपछि सोही आधारमा दोषीमाथि थप कडा कानुनी कदम चालिनेछ,” सीडीओ घिमिरेले बताए ।

सामान बोकेकै भरमा निहत्था सफारी चालकमाथि गोली प्रहार भएपछि स्थानीय बासिन्दा आक्रोशित बनेका छन् । सुरक्षाकर्मीबाटै नागरिकको ज्यान लिने गरी भएको यस घटनाले सीमा क्षेत्रको सुरक्षा व्यवस्था र प्रहरीको आचरणमाथि पुनः प्रश्न उठाएको छ ।