कांग्रेसमा फुटको डर: देउवालाई आफ्नै समूहको दबाब, भने- ‘पार्टी विभाजन नहोस् भन्ने चाहन्छु’
काठमाडौँ, १८ पुस । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला सभापति शेरबहादुर देउवाले पार्टी विभाजन रोक्न आफू प्रतिबद्ध रहेको बताएका छन् ।
शुक्रबार बिहान महाराजगञ्जस्थित निवासमा भेट्न पुगेका संस्थापन पक्षीय २५ केन्द्रीय सदस्यहरूसँगको छलफलमा देउवाले पार्टीलाई एकढिक्का बनाएर लैजाने इच्छा व्यक्त गरेका हुन् ।
निर्वाचनअगावै नियमित महाधिवेशन हुनुपर्ने पक्षमा ‘लबिङ’ गरिरहेका केन्द्रीय सदस्यहरूले पार्टीमा चुलिएको पछिल्लो संकट समाधान गर्न सभापतिको ध्यानाकर्षण गराएका थिए ।
भेटमा सहभागी केन्द्रीय सदस्य डा. डिला संग्रौलाका अनुसार सभापति देउवाले पार्टीमा देखिएको विवादप्रति चिन्ता व्यक्त गर्दै मिलेर जानुको विकल्प नरहेको बताएका थिए । “हामीले पार्टीलाई निकास दिन र विभाजनको बाटोमा जान नदिन सभापतिज्यूलाई आग्रह गर्यौँ,” संग्रौलाले भनिन्, “जवाफमा उहाँले पार्टी विभाजन नहोस् र सबै मिलेर अगाडि बढौँ भन्ने नै मेरो चाहना हो भन्नुभयो ।”
डा. संग्रौलासहितको यो समूहले शुक्रबार नै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग पनि संवाद गर्ने तयारी गरेको छ । यसअघि यो समूहले निर्वाचनअघि नियमित महाधिवेशन गर्ने गरी सहमतिको वातावरण बनाएको थियो ।
पार्टीभित्रको विवाद तब थप चर्कियो जब १६ पुसका लागि तय भएको वडा अधिवेशन प्रभावित भयो । त्यसलगत्तै महामन्त्रीद्वय थापा र शर्माले नियमित अधिवेशन स्थगन गर्दै पुस २७ गतेका लागि ‘विशेष महाधिवेशन’को घोषणा गर्ने तयारी थालेका छन् । उनीहरूले बिहीबार नै विशेष महाधिवेशनका लागि भृकुटीमण्डपसमेत बुकिङ गरिसकेका छन् ।
३ बजे बस्दैछ कार्यसम्पादन समितिको बैठक
महामन्त्री पक्षले ‘काउन्टर’ रणनीति अख्तियार गरेपछि सभापति देउवाले आजै दिउँसो ३ बजेका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने उक्त बैठकले महामन्त्रीहरूको कदम र पार्टीको आगामी दिशाबारे ठोस निर्णय लिने अपेक्षा गरिएको छ ।
संस्थापन पक्ष र महामन्त्री पक्षबीचको यो टकरावले नेपाली कांग्रेस विभाजनको संघारमा पुगेको हो कि भन्ने आशंका कार्यकर्ता पंक्तिमा बढ्न थालेको छ ।