श्रीस्वस्थानी व्रत र माघ स्नान आजदेखि सुरु: घरघरमा कथा वाचन, शालिनदीमा मेला

काठमाडौँ, १९ पुस । हिन्दु धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व श्रीस्वस्थानी व्रत तथा माघ स्नान आज (शनिबार) देखि विधिवत रूपमा सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना चल्ने यो व्रतमा श्रद्धालुहरूले भगवान् शिव र माता पार्वतीको विशेष आराधना गर्ने गर्दछन् ।

आज बिहानैदेखि श्रद्धालुहरूले पवित्र नदी, कुण्ड र तालहरूमा माघ स्नान गरी मध्याह्नकालमा महादेवको पूजा–आराधना गरेका छन् । साँझदेखि घरघरमा स्कन्द पुराण अन्तर्गतको ‘केदार खण्ड’ बाट लिइएको स्वस्थानी व्रत कथा सुन्ने र सुनाउने परम्परा सुरु भएको छ । ‘स्वस्थानी’ को शाब्दिक अर्थ आफ्नो स्थानकी देवी भन्ने बुझिन्छ । उत्तरायणपछिको समय ध्यान र साधनाका लागि उपयुक्त हुने भएकाले यस समयमा आफ्नो आत्मा (स्वस्थान) सँग सम्पर्कको अभ्यास गर्नुलाई नै स्वस्थानी भनिएको धर्मशास्त्रविद्हरूको तर्क छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा.डा. देवमणि भट्टराईका अनुसार स्वस्थानी देवी सुवर्ण वर्णकी, त्रिनेत्रधारी र चार हात भएकी छिन् । उहाँको हातमा नीलकमल, खड्ग, ढाल र वरदमुद्रा रहने पुराणमा उल्लेख छ । यो व्रत बसेमा बिछोड भएका जोडीको पुनर्मिलन हुने, रोगव्याध निको हुने र पारिवारिक सुख–समृद्धि कायम हुने जनविश्वास रहेको छ ।

यसै अवसरमा काठमाडौँको उत्तर–पूर्वी भेगस्थित ऐतिहासिक नगरी साँखुको शालिनदीमा आजदेखि एक महिने माधवनारायण मेला सुरु भएको छ । शालिनदीमा स्नान गरी माधवनारायणको दर्शन गर्नाले पुण्य प्राप्त हुने विश्वासमा देशभरका साथै भारतबाट समेत लाखौँ भक्तजन आउने गर्दछन् । शालिनदी क्षेत्रमा भक्तजनको सहजताका लागि शालीनदी व्यवस्थापन समितिले सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ ।