काठमाडौँमा यस वर्षकै बढी चिसो: तापक्रम ३.५ डिग्रीमा झर्यो, देशभर बढ्यो शीतलहर
काठमाडौँ, २१ पुस । देशभर चिसोको लहर बढेसँगै काठमाडौँ उपत्यकाको तापक्रम यो वर्षकै न्यून विन्दुमा पुगेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो दुई दिनमै काठमाडौँको न्यूनतम तापक्रम १ डिग्री सेल्सियसले घटेर आज (सोमबार) ३.५ डिग्रीमा झरेको हो ।
यसअघि पुस १९ गते काठमाडौँको न्यूनतम तापक्रम ४.५ डिग्री र हिजो (आइतबार) ४ डिग्री सेल्सियस मापन गरिएको थियो । पुस महिना लागेपछि क्रमशः घट्दो क्रममा रहेको तापक्रम आज यो वर्षकै कम रेकर्ड गरिएको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार जनवरी महिनाभर तापक्रम अझै घट्न सक्ने सम्भावना छ ।
काठमाडौँबाहेक मुलुकका अन्य भागमा पनि चिसो अत्यधिक बढेको छ । विभागको पछिल्लो तथ्याङ्कअनुसार देशभरमै सबैभन्दा कम तापक्रम जुम्लामा रेकर्ड गरिएको छ । जुम्लाको न्यूनतम तापक्रम माइनस ६.३ डिग्री सेल्सियस पुगेको छ, जुन दुई दिनअघि माइनस ४.९ डिग्री थियो ।
यस्तै, अन्य सहरहरूको तापक्रम पनि ओरालो लागेको छ । डडेलधुराको तापक्रम २.१ डिग्री, दिपायलको ४.४ डिग्री, वीरेन्द्रनगरको ३.८ डिग्री र पोखराको ७.९ डिग्री सेल्सियसमा झरेको छ । यद्यपि, ताप्लेजुङ, सिमरा र धनकुटाको तापक्रममा भने सामान्य वृद्धि देखिएको छ । देशभरको अधिकतम तापक्रम भने २२ डिग्री सेल्सियसभन्दा तलै सीमित छ ।
मौसम पूर्वानुमान महाशाखाले तराईका भू-भागमा बाक्लो हुस्सु, कुहिरो र शीतलहर कायम रहेकाले जनजीवन प्रभावित भएको जनाएको छ । तराईमा लागेको कुहिरो दिउँसोबाट मात्र क्रमिक रूपमा खुल्ने गरेको छ ।
यता हिमाली क्षेत्रका कतिपय स्थानमा हिमपात भइरहेको छ भने अत्यधिक चिसोका कारण उच्च पहाडी तथा हिमाली भेगका खोलानालाहरूसमेत जम्न थालेका छन् । चिसो अझै बढ्ने देखिएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन् ।