वीरगञ्जमा तनाव यथावत्: दिउँसो १ बजेसम्मका लागि कर्फ्यू आदेश थप

वीरगञ्ज, २२ पुस । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रमा जारी गरेको कर्फ्यू (निषेधाज्ञा) लाई आज दिउँसो १ बजेसम्मका लागि थप गरेको छ । दुई पक्षबीचको विवादपछि उत्पन्न तनावपूर्ण स्थितिलाई नियन्त्रणमा लिन प्रशासनले सोमबार साँझदेखि लगाएको कर्फ्यूलाई निरन्तरता दिएको हो ।

पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भोला दाहालका अनुसार सोमबार बेलुका ६ बजेदेखि सुरु भएको कर्फ्यू आदेश आज बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्मका लागि थप गरिएको हो । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम शान्ति सुरक्षा कायम गर्न यो कदम चालिएको प्रशासनले जनाएको छ ।

कर्फ्यू लगाइएका मुख्य क्षेत्रहरू:
प्रशासनले वीरगञ्जका निश्चित चार किल्लाभित्र निषेधाज्ञा जारी गरेको छ:
पूर्व: बसपार्क क्षेत्र
पश्चिम: सिर्सिया पुल
उत्तर: पावरहाउस चोक
दक्षिण: शङ्कराचार्य गेट

यस सीमाभित्र कुनै पनि प्रकारको भेला, जुलुस, धर्ना, सभा वा बैठक गर्न पूर्ण रूपमा रोक लगाइएको छ ।
प्रजिअ दाहालले सुरक्षा संवेदनशीलता उच्च रहेको भन्दै सर्वसाधारणलाई घरभित्रै बस्न आग्रह गर्नुभएको छ । कर्फ्यू उल्लंघन गर्ने र सुरक्षामा चुनौती थप्नेहरूमाथि सुरक्षाकर्मीले कडा कदम चाल्न सक्ने चेतावनी दिँदै उहाँले भन्नुभयो, “अत्यावश्यक काम परी निस्कनु परेमा नजिकको सुरक्षाकर्मीसँग समन्वय गरेर मात्र निस्कनुहोला ।”
यद्यपि, एम्बुलेन्स, दमकलजस्ता अत्यावश्यक सेवाका सवारीसाधनहरू भने निर्वाध रूपमा सञ्चालन हुन पाउनेछन् । प्रशासनले हाल विवाद समाधानका लागि विभिन्न पक्षहरूसँग संवाद र समन्वयको प्रयास गरिरहेको जानकारी समेत दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *