चितवनमा साउनयता नौ गैँडाको मृत्यु; निकुञ्जभित्रको सडकमा परीक्षणका लागि टायल बिछ्याइँदै

चितवन, २३ पुस । चितवन राष्ट्रिय निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्षको साउनयता नौ वटा गैँडा मरेका छन् । निकुञ्ज कार्यालयका अनुसार साउनदेखि हालसम्म पाँच भाले र तीन पोथी गैँडा मरेका हुन् भने एउटाको लिङ्ग पहिचान हुन सकेको छैन ।

निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार मरेका नौ गैँडामध्ये एउटाको विद्युतीय करेन्ट लागेर मृत्यु भएको हो भने बाँकी आठ वटाको मृत्यु प्राकृतिक कारणले भएको हो । पछिल्लो पटक पुस २२ गते कुमरोज मध्यवर्ती सामुदायिक वनमा करिब ३५ वर्षको भाले गैँडा मृत फेला परेको छ । “उक्त गैँडा एकापसमा जुधेर मरेको अनुमान गरिएको छ, उसको खाग र खुर सुरक्षित अवस्थामा भेटिएको छ,” सूचना अधिकारी मगरले जानकारी दिनुभयो ।

निकुञ्जमा गैँडाहरू प्रायः प्राकृतिक कारण, एकापसमा जुधेर, दलदलमा फसेर तथा कहिलेकाहीँ विद्युतीय करेन्ट लागेर मर्ने गरेका छन् । पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६ सय ९४ वटा गैँडा रहेका छन् ।

हुलाकी सडकमा टायल बिछ्याउन सुरु
यसैबीच, चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने नारायणगढ–माडी–ठोरी हुलाकी सडकखण्डमा टायल बिछ्याउने काम सुरु गरिएको छ । माडी नगरपालिकाको रु १० लाख लागतमा परीक्षणस्वरुप माडीतर्फबाट ३४ मिटर सडकमा टायल बिछ्याउन थालिएको हो ।

विश्व सम्पदा सूचीमा सूचीकृत निकुञ्जभित्रको सडक कालोपत्र (पिच) गर्न कानुनी जटिलता भएपछि विकल्पका रूपमा टायल बिछ्याउन लागिएको हो । माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालका अनुसार यो काम परीक्षणका रूपमा सुरु गरिएको र सफल भएमा अन्य क्षेत्रमा पनि विस्तार गरिनेछ । “सुरुआतमा प्रभावकारिता हेर्न थोरै क्षेत्रमा काम थालेका हौँ, यो सफल भएमा देउरालीसम्मै टायल बिछ्याउने योजना छ,” उहाँले भन्नुभयो ।

माडी नगरपालिकाका उपप्रमुख खेमप्रसाद महतोले निकुञ्जभित्रको सडक स्तरोन्नतिका लागि टायल लगाउन आवश्यक संरचना निर्माण भइरहेको बताउनुभयो । वन तथा वातावरण मन्त्रालयको सहमति र विभागको अनुमतिपछि मात्रै यो काम अघि बढाइएको निकुञ्ज प्रशासनले जनाएको छ । लामो समयदेखि माडीवासीले निकुञ्जभित्रको धुलाम्मे सडक कालोपत्र गर्न माग गर्दै आएका थिए ।