आगामी निर्वाचनका लागि १ लाख ३४ हजार ‘निर्वाचन प्रहरी’को भर्ना खुल्यो, पुस २५ देखि आवेदन दिन सकिने
काठमाडौँ, २४ पुस । सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी ठूलो सङ्ख्यामा ‘निर्वाचन प्रहरी’ (म्यादी प्रहरी) को भर्ना खुलाएको छ। प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले बिहीबार एक सूचना जारी गर्दै १ लाख ३३ हजार ९८० जना ‘निर्वाचन प्रहरी’का लागि दरखास्त आह्वान गरेको हो।
इच्छुक उम्मेदवारले यही पुस २५ गते शुक्रबारदेखि माघ १ गतेसम्म दरखास्त दिन सक्नेछन्। निर्वाचनको तयारीका लागि समय छोटो भएकाले सार्वजनिक बिदाका दिनमा समेत दरखास्त लिने व्यवस्था मिलाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
आवेदन काठमाडौँ उपत्यकाका तीन जिल्ला (काठमाडौँ, भक्तपुर र ललितपुर) स्थित जिल्ला प्रहरी परिसर र देशका सबै ७७ वटै जिल्ला प्रहरी कार्यालयमा दिन सकिनेछ।
कसले पाउँछन् प्राथमिकता?
निर्वाचन प्रहरी छनोटमा केही विशेष समूहलाई प्राथमिकता दिने नीति लिइएको छ। सूचना अनुसार देहायका व्यक्तिहरूले छनोटमा प्राथमिकता पाउनेछन्:
१. पूर्व सुरक्षाकर्मी: नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका पूर्व कर्मचारीहरू।
२. पूर्व वन रक्षक: वन सेवामा काम गरेका पूर्व वन रक्षकहरू।
३. तालिम प्राप्त व्यक्ति: पछिल्लो पटक विभिन्न सुरक्षा निकायको भर्ना प्रक्रियामा सहभागी भई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएकाहरू।
४. अनुभवी म्यादी प्रहरी: यसअघिका निर्वाचनहरूमा म्यादी प्रहरीका रूपमा भर्ना भई सन्तोषजनक कार्यसम्पादन गरेका व्यक्तिहरू।
५. विदेशी सेनाका भूपू सैनिक: विदेशी राष्ट्रका सुरक्षा निकायमा काम गरी सेवा निवृत्त भएका नेपाली नागरिकहरू।
प्रतिनिधि सभा निर्वाचन आउन अब ५७ दिन मात्र बाँकी रहँदा सरकारले सुरक्षा व्यवस्था मजबुत पार्न ठूलो सङ्ख्यामा जनशक्ति परिचालन गर्ने तयारी गरेको हो।