आर्ट इन हिमालय

नेपाली कलालाई विश्वमाझ चिनाउन पोखरामा ‘आर्ट इन हिमालय’ प्रदर्शनी सुरु

काठमाडौँ, पुस २४ । नेपाली कला र कलाकारलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यका साथ पर्यटकीय राजधानी पोखरामा आजदेखि ‘आर्ट इन हिमालय’ कला प्रदर्शनी सुरु भएको छ । सिर्जनशील कलाकार समूह, पोखराको आयोजना र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा आयोजित उक्त प्रदर्शनीको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शुभारम्भ गर्नुभयो ।

प्रदर्शनीको उद्घाटन गर्दै नगरप्रमुख आचार्यले यस्ता कार्यक्रमले नेपाली कलाकारको सीप र क्षमतालाई विश्वबजारसम्म पुर्‍याउन सेतुको काम गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “यो प्रदर्शनी केवल कलाको प्रदर्शन मात्र नभई नेपाली र अन्तर्राष्ट्रिय कलाकारबीच अनुभव, प्रविधि र सिर्जना साटासाट गर्ने एउटा महत्वपूर्ण मञ्च पनि हो । यसले पोखरालाई कलाको माध्यमबाट विश्वसँग जोड्न मद्दत पुग्नेछ ।”

पोखरा–९ नयाँबजारस्थित पोखरा आर्ट ग्यालरीमा सञ्चालित यस प्रदर्शनीमा नेपालसहित सात राष्ट्रका कलाकारहरूका सिर्जना समावेश छन् । आयोजक समूहका अध्यक्ष डीबी गुरूङका अनुसार प्रदर्शनीमा नेपालका ३३ जना र अमेरिका, अस्ट्रेलिया, बेलायत, डेनमार्क, क्यानडा तथा आयरल्यान्डका १५ जना गरी कूल ४८ कलाकारका ७० वटा कलाकृति राखिएका छन् । प्रदर्शनीमा राखिएका कलाकृतिहरू बिक्रीका लागि समेत खुल्ला गरिएको छ, जसबाट नेपाली कलाकारहरूलाई आर्थिक रूपमा पनि लाभ पुग्ने अपेक्षा गरिएको छ ।

कार्यक्रममा आयरल्यान्डकी कलाकार लोरा मर्फीले नेपाली कलाकारसँग सहकार्य गर्न पाउँदा आफूहरू उत्साहित भएको बताउनुभयो । उहाँले पोखराका स्थानीय कलाकारलाई अन्तर्राष्ट्रिय कलाकारहरूसँग जोड्न आफूले निरन्तर समन्वय गरिरहेको जानकारी दिनुभयो ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ सदस्य राधिका कँडेलले कलाका माध्यमबाट संस्कृति र पर्यटन प्रवर्द्धन गर्ने प्रतिष्ठानको नीतिअनुरूप कार्यक्रमलाई विकेन्द्रित गर्दै पोखरामा आयोजना गरिएको बताउनुभयो । उहाँले गत वर्षको प्रदर्शनीमा विदेशी कलाकारहरूले नेपाली कलाकृतिमा विशेष चासो देखाउँदै खरिद समेत गरेको स्मरण गर्दै नयाँ पुस्तालाई ललितकला अध्ययनमा प्रेरित गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रदर्शनी आगामी तीन दिनसम्म बिहान १० देखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । साथै, यसको दोस्रो चरणको प्रदर्शनी आगामी माघ १० गतेदेखि सुरु हुने र त्यसमा २० जना विदेशी कलाकारसहित नेपाली कलाकारहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।