कांग्रेस विशेष महाधिवेशन पक्षधरका आजका कार्यक्रम स्थगित
काठमाडौँ, २६ पुस । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग गर्दै आएको पक्षले आज (शनिबार) का लागि तय गरेका आफ्ना सम्पूर्ण औपचारिक कार्यक्रमहरू स्थगित गरेको छ।
पार्टीका पूर्वकेन्द्रीय सदस्य एवं पूर्वमन्त्री होमनाथ दाहालको गएराति असामयिक निधन भएपछि उहाँप्रति सम्मान प्रकट गर्दै आजका लागि निर्धारित र्याली र सभाहरू स्थगित गरिएको हो।
दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका अनुसार आज काठमाडौँको भृकुटीमण्डपमा शक्ति प्रदर्शनसहितको र्याली र अन्य विभिन्न सङ्गठनात्मक कार्यक्रमहरू आयोजना गर्ने कार्यतालिका थियो। सचिवालयका संयोजक मनोजमणि आचार्यले नेता दाहालको निधनका कारण आजका सबै कार्यक्रमहरू रोकिएको जानकारी दिनुभयो।
आजका कार्यक्रम स्थगित भए पनि भोलि (पुस २७ गते) का लागि तय भएका कार्यक्रमहरू भने यथावत रहने नेता आचार्यले बताउनुभयो। भोलि भृकुटीमण्डपमा ‘दोस्रो विशेष महाधिवेशन’को भव्य उद्घाटन गर्ने कार्यतालिका रहेको छ।
कांग्रेसभित्र संस्थापन पक्ष र महामन्त्री पक्षबीच विवाद चुलिएकै बेला विशेष महाधिवेशन पक्षधरले आफ्नो तयारीलाई तीव्रता दिइरहेका छन्। तर, वरिष्ठ नेता दाहालको निधनले आजका लागि भने उनीहरूका कार्यक्रम प्रभावित भएका हुन्।