सिमलताल दुर्घटनाको डेढ वर्षपछि त्रिशूलीमा भेटियो एउटा बस
चितवन, २७ पुस । नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोसँगै त्रिशूली नदीमा खसेर बेपत्ता भएका दुईवटा बसमध्ये एउटा बस १८ महिना (डेढ वर्ष) पछि फेला परेको छ।
२०८१ साल असार २८ गतेको भीषण पहिरोमा परी नदीमा हराएका दुई बसमध्ये एउटा बस बालुवामा पुरिएको अवस्थामा फेला परेको हो।
भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा भएको उक्त भयावह दुर्घटनामा वीरगन्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बर र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको बस त्रिशूलीमा खसेका थिए। फेला परेको बस कुन हो भन्नेबारे प्राविधिक जाँच र पहिचानको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
चितवन प्रहरीका अनुसार नदीमा बालुवा र गेग्रानले पुरिएको अवस्थामा बसको केही भाग देखिएपछि तत्कालै प्रहरी टोली घटनास्थल पुगेको थियो।
२०८१ असार २८ गते शुक्रबार बिहान भएको सो दुर्घटनामा दुवै बसमा गरी कुल ६५ यात्रु सवार थिए। दुर्घटनालगत्तै सुरक्षा निकाय र गोताखोरको टोलीले हप्तौंसम्म खोजी गरे पनि बस र सबै यात्रु भेटिन सकेका थिएनन्। सो घटनामा हालसम्म ३५ यात्रु अझै बेपत्ता रहेका छन्।
लामो समयपछि बस फेला परेसँगै बेपत्ता रहेका अन्य यात्रुहरूको अवशेष वा अवस्थाबारे थप जानकारी मिल्न सक्ने अपेक्षा गरिएको छ। चितवन प्रहरीले अहिले घटनास्थलमा पुगेर थप अनुसन्धान र बस निकाल्ने प्रक्रियाबारे समन्वय गरिरहेको बताएको छ।