पार्टी फुट्न दिन्न, मलाई सभापति वा प्रधानमन्त्री बन्ने लोभ छैन: डा. शेखर कोइराला
काठमाडौँ, २७ पुस । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू सधैँ पार्टी एकताको पक्षमा रहेको र कांग्रेस विभाजन हुन नदिन सचेत रहेको बताउनुभएको छ।
काठमाडौँमा सुरु भएको पार्टीको विशेष महाधिवेशनका सन्दर्भमा आइतबार एक भिडियो सन्देश जारी गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो।
विशेष महाधिवेशन पक्षधर समूहले आयोजना गरेको कार्यक्रमको उद्घाटन सत्रमा सन्देश पठाउँदै कोइरालाले आफू कुनै पनि व्यक्तिगत स्वार्थ वा पदको दौडमा नरहेको स्पष्ट पार्नुभयो। “म कांग्रेसको रूपान्तरण अभियानमा आक्रोश र अधैर्य भएर अगाडि बढ्न चाहन्न,” उहाँले भन्नुभयो, “मेरो निजी महत्वाकांक्षा केही छैन। मलाई मन्त्री वा महामन्त्री हुने लोभले विगतमा कहिल्यै आकर्षित गरेन, अवसर आउँदा पनि मैले रुचि देखाइनँ। मलाई सभापति वा प्रधानमन्त्री हुने कुराले पनि लोभ्याउँदैन।”
नेता कोइरालाले आफू पारिवारिक जीवन दर्शनबाट अभिप्रेरित भएर कांग्रेसको समग्र एकताका लागि ‘शान्त आवाज’ उठाइरहेको बताउनुभयो। उहाँले पार्टीभित्रको रूपान्तरण र सुधारका लागि संयमतापूर्वक अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ।
विशेष महाधिवेशनको अभियान चलिरहँदा आफूले पार्टीको नीति र विधिको बारेमा केन्द्रीय कार्यसमितिमा लिखित रूपमै धारणा राखिसकेको उहाँले जानकारी दिनुभयो। महाधिवेशन प्रतिनिधिहरूलाई पार्टीको ‘धरोहर’ को संज्ञा दिँदै कोइरालाले विधिको प्रभावकारिता र नीतिको सान्दर्भिकता स्थापित गर्ने पवित्र उद्देश्यका साथ उनीहरू काठमाडौँ आएको उल्लेख गर्नुभयो।
संस्थापन पक्षले विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाइरहेका बेला कोइरालाको यो सन्देशलाई अर्थपूर्ण रूपमा हेरिएको छ। उहाँले नेतृत्वप्रति असन्तुष्टि रहे पनि पार्टीको एकतालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने सन्देश दिन खोज्नुभएको छ।